कञ्चनपुरबाट ४ जना एमाले महाधिवेशन प्रतिनिधि मनोनित
कञ्चनपुर, ८ मंसिर– नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि कञ्चनपुरबाट ४ जना मनोनित भएका छन् । कञ्चनपुरका सांसद इन्दु कडरिया, संविधानसभा सदस्य कृपाराम राना, हिरा सार्की र गोबिन्द प्रसाद कलौनी प्रतिनिधिमा मनोनित भएका हुन।

‘निणर्यको सूची आएको छैन,’ प्रतिनिधि मनोनितमा परेका कृपाराम रानाले भने, ‘तर, म सहित चार जना मनोनित भएको जानकारी आएको छ।’ यसअघि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट महाधिवेशनका लागि १६ जना प्रतिनिधि चयन भएका थिए । क्षेत्र नम्बर १ मा निर्वाचनमार्फत एमाले (कञ्चनपुर) का अध्यक्ष वीरबहादुर थापा (पातल), सहसचिव पल्लवराज भट्ट, भूमि सम्बन्धि समस्या समाधान आयोग कञ्चनपुर की पूर्वअध्यक्ष कमला बोहरा, हिरा सिंह बिष्ट र भक्तराज अधिकारी प्रतिनिधि छानिएका थिए ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट संघीय सांसद नरबहादुर धामी, बेदकोट नगरपालिका मेयर अशोक कुमार चन्द, युवा संघका निवर्तमान अध्यक्ष बचन बहादुर सिंह, रणबहादुर महरा, चाँदनी धामी र लक्ष्मी बुढालाई एमाले कञ्चनपुरले प्रतिनिधि छानेको थियो ।
निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय सांसद डा।दीपकप्रकाश भट्ट, एमाले जिल्ला सचिव सचिव तथा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, कृष्णदेव पन्त, खिमा चन्द, नरबहादुर विश्वकर्मा र भारमल सुनार प्रतिनिधि चयन भएका छन् ।