रसुवामा आएको बाढीमा परी घाइते भएका २४ जनालाई उपचारका लागि रसुवा अस्पताल ल्याइएको छ। उपचारका क्रममा एक जना घाइतेको मृत्यु भएको अस्पतालले जनाएको छ।




रसुवा अस्पतालका सूचना अधिकारी नरेन्द्र थापाका अनुसार बाढी प्रभावित क्षेत्रबाट घाइतेहरू आउने क्रम जारी छ। घाइतेमध्ये केहीको अवस्था सामान्य रहे पनि ६ जना गम्भीर घाइतेलाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको छ।







सामान्य अवस्थाका केही बिरामीलाई समेत आवश्यक उपचारपछि थप उपचारका लागि अन्य अस्पताल पठाइएको थापाले बताए। गम्भीर घाइतेहरूलाई हेलिकोप्टरमार्फत समेत उद्धार गरी उपचारका लागि पठाउने काम भइरहेको छ।
बाढी प्रभावित क्षेत्रबाट थप घाइते आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अस्पताललाई तयारी अवस्थामा राखिएको छ। उपचार तथा उद्धारका लागि अस्पतालका स्वास्थ्यकर्मी, जनस्वास्थ्य कार्यालय, स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, नेपाली सेना र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय परिचालन गरिएको छ।
अस्पतालले उपलब्ध जनशक्ति र स्रोतसाधनलाई एकीकृत रूपमा परिचालन गरी घाइतेको उपचार तथा व्यवस्थापन गरिरहेको जनाएको छ। थप गम्भीर बिरामी आएमा तत्काल अन्य अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको अस्पतालका सूचना अधिकारी थापाले बताए।




