मालाखेती अस्पतालमा रेबिजविरुद्धको खोप पुनः उपलब्ध, बिरामीलाई राहत

अत्तरिया- कैलालीको गोदावरी–३ स्थित मालाखेती अस्पतालमा करिब चार महिनापछि रेबिजविरुद्धको खोप (एआरभी) उपलब्ध भएको छ। अस्पतालमा बुधबारदेखि खोप लगाउन सुरु गरिएको सूचना अधिकारी सुनिता बोहराले जानकारी दिइन्।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन कार्यालयबाट उपलब्ध गराइएको ३३० डोज अर्थात् १६५ भाइल खोप मंगलबार अस्पतालमा आइपुगेको हो।

Navadurga sun

खोप अभावका कारण लामो समयदेखि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीहरू निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिर्न बाध्य हुँदै आएका थिए। सरकारी स्वास्थ्य संस्थामा भने रेबिजविरुद्धको खोप निःशुल्क उपलब्ध हुँदै आएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नियमित खरिद प्रक्रियाबाट प्राप्त खोप आवश्यकताका आधारमा सातै प्रदेशमा पठाइएको छ। प्रदेशबाट सम्बन्धित स्वास्थ्य संस्थामा खोप वितरण गर्ने व्यवस्था मिलाइएको छ।

महाशाखाले कुकुर, बिरालो वा अन्य शंकास्पद जनावरले टोके वा चिथोरेमा घाउलाई तुरुन्त साबुनपानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुन र सकेसम्म छिटो स्वास्थ्य संस्थामा पुग्न आग्रह गरेको छ। स्वास्थ्यकर्मीको सल्लाहअनुसार समयमै खोप तथा आवश्यक उपचार गरे रेबिजबाट बच्न सकिन्छ।

यस वर्ष खोप खरिदका दुई वटा टेन्डर रद्द भएपछि देशभरका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोपको अभाव भएको थियो। सरकारले हरेक वर्ष करिब तीन लाख डोज रेबिजविरुद्धको खोप खरिद गरी सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गर्दै आएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...