दुर्गालक्ष्मी नमुना माविमा स्मार्ट ई–हाजिरी, विद्यार्थी विद्यालय पुगेको जानकारी अभिभावकको मोबाइलमै

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले विद्यार्थीको उपस्थितिलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन स्मार्ट ई–हाजिरी प्रणाली सञ्चालनमा ल्याएको छ।

विद्यालयले कक्षा ६ देखि १२ सम्म अध्ययनरत करिब २६ सय विद्यार्थीलाई क्युआर कोडसहितको परिचयपत्र उपलब्ध गराएको छ। विद्यार्थीले विद्यालय प्रवेश गर्ने क्रममा ई–हाजिरी मेसिनमा परिचयपत्र देखाएपछि गेटमै हाजिरी हुने र त्यसको जानकारी तत्काल अभिभावकको मोबाइलमा एसएमएसमार्फत पुग्ने व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि भट्टराईले बताए।

Navadurga sun

विद्यार्थी विद्यालयबाट बाहिरिँदा पनि अभिभावकलाई तत्काल सन्देश जाने व्यवस्था गरिएको छ। यसले विद्यार्थी विद्यालय पुगेको तथा विद्यालयबाट बाहिरिएको जानकारी अभिभावकले समयमै पाउनेछन्।

प्रधानाध्यापक वीरसिंह महताका अनुसार विद्यार्थी घरबाट विद्यालयका लागि हिँडे पनि बाटोमै हराउने वा विद्यालय नपुग्ने गुनासो आउने गरेको थियो। “नयाँ प्रणालीले विद्यार्थी विद्यालय पुगेको वा बाहिरिएको जानकारी अभिभावकलाई तत्काल दिने भएकाले यस्ता समस्या न्यूनीकरणमा सहयोग पुग्नेछ,” उनले भने।

स्मार्ट ई–हाजिरी प्रणालीमार्फत कक्षा शिक्षकले मोबाइलबाटै विद्यार्थीको हाजिरी विवरण हेर्न सक्नेछन्। ई–हाजिरी छुटेका विद्यार्थीको हाजिरी शिक्षकले कक्षाकोठाबाटै लगाउन सक्ने व्यवस्था पनि गरिएको छ।

शिक्षक तपराज ओझाका अनुसार यस प्रणालीले दैनिक रजिस्टरमा हाजिरी लगाउने समय र झन्झटसमेत घटाउनेछ।

यसै प्रणालीअन्तर्गत अभिभावकले ‘पाठशाला’ मोबाइल एपमार्फत विद्यार्थीको शैक्षिक गतिविधि, होमवर्क, प्रोजेक्ट असाइनमेन्ट तथा विद्यालयका सूचनासमेत हेर्न सक्नेछन्।

विद्यालयका अनुसार स्मार्ट ई–हाजिरी प्रणाली विगत पाँच–छ दिनदेखि परीक्षणका रूपमा सञ्चालन भइरहेको छ। परीक्षण सफल भएपछि छिट्टै ई–हाजिरीलाई नै विद्यालयको आधिकारिक उपस्थितिका रूपमा लागू गरिनेछ।

प्रविधिको प्रयोगमार्फत विद्यार्थीको नियमित उपस्थिति, अभिभावकसँगको सूचना आदानप्रदान र विद्यालयको प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउने विद्यालयको अपेक्षा छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...