मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक उत्तरतर्फ रहेको छ।
यसको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा, साथै मधेस प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
बागमती, गण्डकी, कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
आज राति पनि देशभर बदली कायम रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक यातायातमा अवरोध आउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
