मुख्यमन्त्री शाहद्वारा बिउ प्रशोधन तथा भण्डारण गृह उद्घाटन

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको बिउ प्रशोधन तथा भण्डारण गृह भवनको बुधबार उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहले कृषि क्षेत्रको आधुनिकीकरण, गुणस्तरीय बिउ उत्पादन तथा सुरक्षित भण्डारणका लागि यस्ता पूर्वाधार आवश्यक रहेको बताए। उनले सहकारीमार्फत किसानलाई उत्पादनदेखि बजारीकरणसम्म जोड्ने कार्यलाई प्रदेश सरकारले निरन्तर प्रोत्साहन गर्ने उल्लेख गरे।

Navadurga sun

उक्त भवन सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कृषि विकास निर्देशनालयको लागत साझेदारी कार्यक्रममार्फत निर्माण गरिएको हो। आयोजनाको सम्झौता रकम ३४ लाख ५७ हजार रुपैयाँ रहेकामा ३४ लाख ३० हजार रुपैयाँमा निर्माण कार्य सम्पन्न गरिएको छ। कृषि विकास निर्देशनालयले १७ लाख १५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ भने बाँकी रकम सहकारीले आफ्नै स्रोतबाट व्यवस्थापन गरेको जनाएको छ।

सहकारीका अनुसार बिउ प्रशोधन तथा भण्डारण गृह सञ्चालनमा आएपछि स्थानीय किसानले उत्पादन गरेको बिउको गुणस्तर संरक्षण, सुरक्षित भण्डारण र बजार व्यवस्थापनमा सहजता हुने विश्वास गरिएको छ। यसबाट कृषि उत्पादनको मूल्य अभिवृद्धिसँगै किसानको आयस्तर बढाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...