मनसुनी सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको चेतावनी

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ सरदर स्थानकै आसपास रहेकाले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ।

हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

Navadurga sun

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी र हिमाली भूभागका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान, साथै मधेस र कोशी प्रदेशको तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावनासमेत रहेको छ।

आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराईका केही स्थान, मधेस प्रदेशका विभिन्न क्षेत्र तथा कर्णालीका पहाडी भूभागका थोरै स्थानमा वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...