साना नदीहरूमा आकस्मिक बाढीको जोखिम, प्रभावित क्षेत्रमा सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लाबाट बग्ने साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहेको छ। यद्यपि साना नदी तथा खोलाहरूमा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Navadurga sun

आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेल्धुरा लगायतका जिल्लामा बहने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहने अनुमान गरिएको छ। साथै ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र आसपासका जिल्लाका केही साना नदीहरूमा पनि जोखिम रहने बताइएको छ।

महाशाखाका अनुसार भोलि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साना नदीहरूमा तथा पर्सि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ।

नदी किनार, खोला आसपास तथा डुबान हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन, नदी तर्ने वा जोखिमपूर्ण गतिविधि नगर्न तथा स्थानीय प्रशासनको सूचना पालना गर्न महाशाखाले आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...