शुक्लाफाँटा नगरपालिकामा निःशुल्क शव चिस्यान सेवा सुरु

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरवासीका लागि निःशुल्क शव चिस्यान (डेथ बडी फ्रिजर) सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले ठेक्का प्रक्रियामार्फत रु तीन लाख लागतमा आवश्यक उपकरण खरिद गरी उक्त सेवा सुरु गरेको हो ।

नगर कार्यपालिकाको हिउँदे अधिवेशनले गरेको निर्णयअनुसार उपकरण खरिद गरिएको नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख दीपक धामीले जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगारी वा देशका विभिन्न स्थानमा रहेका परिवारका सदस्य समयमै घर फर्किएर आफ्ना दिवङ्गत आफन्तको अन्तिम अनुहार हेर्न सकून् भन्ने उद्देश्यले सेवा सञ्चालन गरिएको हो ।

Navadurga sun
Godawari sandesh

“चिस्यान यन्त्रको सहयोगले शवलाई चारदेखि पाँच दिनसम्म सुरक्षित रूपमा राख्न सकिन्छ,” धामीले बताए ।

Dadeldhura hospital

पछिल्लो समय युवा वैदेशिक रोजगारी तथा अध्ययनका सिलसिलामा घरबाहिर रहने क्रम बढ्दै गएको अवस्थामा आफन्त आइपुग्नुअघि नै अन्त्येष्टि गर्नुपर्ने बाध्यता हट्ने विश्वास नगरपालिकाले लिएको छ ।

नगर प्रवक्ता लालबहादुर ऐरले यसलाई मानवीय संवेदनासँग जोडिएको महत्त्वपूर्ण कार्यक्रमका रूपमा व्याख्या गर्दै टाढा रहेका आफन्तले मृतकको अन्तिम दर्शन गर्न पाउने वातावरण सिर्जना गर्ने उद्देश्य रहेको बताए ।

नगरपालिकाले आवश्यक परेका परिवारको घरमै नगर प्रहरीमार्फत शव चिस्यान यन्त्र पुर्‍याउने व्यवस्था समेत मिलाएको जनाएको छ ।

यसैबीच, नगरपालिकाले आगामी असार मसान्तभित्र शव वाहन सेवा सञ्चालनमा ल्याउने तयारी पनि गरेको छ । पूर्वाधार शाखाका अनुसार शव वाहन खरिद प्रक्रिया पूरा भइसकेको र असारभित्रै गाडी नगरपालिकामा आइपुग्नेछ ।

आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका लागि निजी क्षेत्रबाट यस्तो सेवा लिन महँगो पर्ने भएकाले स्थानीयवासीले नगरपालिकाको यस सेवामूलक कार्यको स्वागत गरेका छन् ।

Loading...