धनगढी- नेपालमै पहिलोपटक दलित समुदायबाट संस्कृतमा आचार्य (स्नातकोत्तर) गर्ने विद्वान कृष्ण बहादुर दमाई लाई धनगढी उपमहानगरपालिका ले विशेष जिम्मेवारी दिएको छ। उपमहानगरपालिकाले उनलाई शिक्षामार्फत छुवाछुत अन्त्य गर्ने अभियानको संयोजक नियुक्त गरेको हो।



यसअघि आयोजित एक कार्यक्रममा नगर प्रमुख गोपाल हमाल ले उनलाई सम्मानपत्रसहित १ लाख ५१ हजार रुपैयाँ नगद प्रदान गरेका थिए। कञ्चनपुरको भीमदत्त नगरपालिका निवासी दमाई आर्थिक अभावका कारण समस्यामा रहेका बेला उनको विषय सामाजिक सञ्जालमा आएपछि नगरपालिकाले सहयोग र रोजगारीको व्यवस्था गरेको हो।


नेपाल संस्कृत विश्वविद्यालय बाट संस्कृत साहित्यमा आचार्य गरेका दमाई शिल्पी समुदायबाट यस्तो उपलब्धि हासिल गर्ने नेपालकै पहिलो व्यक्ति हुन्। अहिले उनले जातीय विभेद अन्त्य गर्ने अभियानको नेतृत्व गरिरहेका छन् र सो कार्यका लागि पारिश्रमिक समेत पाउँदै आएका छन्।
नगर प्रमुख हमालले दमाई जस्ता विद्वानले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।





