

धनगढी- आगामी शैक्षिक सत्र २०८३ सुरु हुनुअघि नै विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेशभर वितरण कार्य तीव्र पारिएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले दुर्गम जिल्लालाई प्राथमिकतामा राख्दै पुस्तक ढुवानी तथा बिक्री वितरणलाई तीव्रता दिएको जनाएको छ।


केन्द्रका अनुसार हिमाली जिल्ला बाजुरा र दार्चुलामा आवश्यक सबै पाठ्यपुस्तक पुर्याइसकिएको छ। त्यस्तै बझाङ, अछाम, बैतडी र डोटीमा पनि पुस्तक पठाइसकिएको र वितरण प्रक्रिया जारी रहेको छ। डडेल्धुरामा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ भने कैलाली र कञ्चनपुरमा पनि समयमै पुस्तक उपलब्ध गराइने व्यवस्था गरिएको छ।



प्रादेशिक कार्यालय प्रमुख निर्मलकुमार यादवका अनुसार हालसम्म करिब ४ लाख थान पाठ्यपुस्तक बिक्री वितरण भइसकेको छ। उनले चैत १६ गतेदेखि औपचारिक रूपमा वितरण सुरु गरिएको जानकारी दिँदै चैत ३० गतेभित्र सबै जिल्लामा पुस्तक पुर्याउने लक्ष्य रहेको बताए।
केन्द्रले यस वर्ष सुदूरपश्चिमभर करिब साढे १६ लाख पाठ्यपुस्तक वितरण गर्ने लक्ष्य लिएको छ। मागअनुसार कुनै जिल्लामा अभाव भएमा दोस्रो चरणमा थप पुस्तक पठाइने व्यवस्था गरिएको पनि कार्यालयले जनाएको छ।
समयमै पाठ्यपुस्तक उपलब्ध हुने अपेक्षासँगै विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिमा उत्साह थपिएको छ। विगतमा देखिने ढिलाइ र अभावको समस्या यस वर्ष कम हुने विश्वास गरिएको छ।