अत्तरियाको सत्यवती एकेडेमीमा वार्षिकोत्सवको तेस्रो चरण सम्पन्न

अत्तरिया- कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीले विद्यालयको वार्षिकोत्सवलाई चरणबद्ध रूपमा मनाउँदै तेस्रो चरणको कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय परिसरमा शुक्रबार आयोजित औपचारिक कार्यक्रममार्फत नर्सरीदेखि कक्षा १ सम्मका साना बालबालिकाहरूको सहभागितामा तेस्रो चरणको वार्षिकोत्सव सम्पन्न गरिएको हो।

Ganyapdhura gau

विद्यालयले यसअघि दुई चरणमा वार्षिकोत्सव आयोजना गरिसकेको छ। पहिलो चरणमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई समेटेर कार्यक्रम गरिएको थियो भने दोस्रो चरणमा कक्षा ५ देखि ७ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो। तेस्रो चरणमा साना बालबालिकाहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाएका हुन्।

Navadurga sun
Dadhaldhura pur

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक वीरबहादुर कडायतले शिक्षा मात्र पर्याप्त नहुने र त्यससँगै संस्कार अत्यन्त आवश्यक हुने बताए। उनका अनुसार शिक्षित मानिसहरू पनि संस्कार नभए गलत बाटोमा जान सक्ने भएकाले बालबालिकालाई सानैदेखि राम्रो संस्कार दिनु जरुरी छ।

उनले विद्यालयले विशेष गरी विद्यार्थीहरूको सुरक्षा, स्वास्थ्य र संस्कारलाई पहिलो प्राथमिकतामा राखेर शिक्षा प्रदान गरिरहेको जानकारी दिए। साथै बालबालिकामा राम्रो संस्कार विकास गर्न अभिभावकहरूको भूमिका पनि महत्वपूर्ण हुने उनको भनाइ थियो।

कार्यक्रममा विद्यार्थीहरूले स्वागत गान, भक्ति गीत, ड्रिल तथा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान पनि गरिएको थियो।

विद्यालय प्रशासनका अनुसार वार्षिकोत्सवलाई अझ व्यवस्थित बनाउन चरणबद्ध रूपमा कार्यक्रम आयोजना गरिएको हो। यसअन्तर्गत चौथो चरणको कार्यक्रम शनिबार आयोजना हुने र त्यसमा कक्षा २ देखि ४ सम्मका विद्यार्थीहरूको सहभागिता रहने जानकारी दिइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...