

प्रकाशबहादुर बोहरा/अत्तरिया, २९ फागुन- चुरे गाउँपालिकाभित्र लुकेर रहेका प्रतिभाहरूको छनोट तथा प्रस्फुटन गर्ने उद्देश्यले ‘चुरे आइडल’ कार्यक्रम आयोजना हुने भएको छ । ई.अल नेपाल प्रा.लि.को आयोजना तथा चुरे गाउँपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम गर्न लागिएको हो ।


कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले २०८२ साल चैत ५ गतेसम्म आफ्नो विवरण खुल्ने प्रमाणपत्र सहित तोकिएको समयमा नाम दर्ता गर्न आयोजकले अनुरोध गरेको छ । कार्यक्रममा लोकगीत, देउडा, लोकदोहोरी र आधुनिक गीत विधाका गीत मात्र समावेश गरिने बताइएको छ ।



आयोजकका अनुसार जुनसुकै उमेर समूहका व्यक्तिले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् । तर सहभागी व्यक्ति चुरे गाउँपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने हुनुपर्नेछ । कार्यक्रममा कुनै विवाद उत्पन्न भएमा आयोजकको निर्णय नै अन्तिम हुने जनाइएको छ ।
कार्यक्रम २०८२ साल चैत ८ गते आइतबार बिहान १० बजेदेखि चुरे गाउँपालिकाको सभा हल, घरखेडा कैलालीमा सञ्चालन हुने बताइएको छ । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई नगद, मेडल, ट्रफी र प्रमाणपत्रसहित आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
थप जानकारीका लागि नरेश नाथ योगी प्रमुख व्यवस्थापक ९८६४७५०४९४, प्रबन्ध निर्देशक केशव सिं धामी ९८५२६४१२५१ र कार्यक्रम संयोजक गणेश नाथ योगी ९८४८२२६०४५ मा सम्पर्क गर्न सकिने छ ।


