


धनगढी- सुदूरपश्चिम प्रदेशका १६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अन्तिम चुनावी परिणाम सार्वजनिक भएको छ । फागुन २१ गते भएको मतदानबाट १६ जना उम्मेदवारले जित हात पार्दै प्रतिनिधि सभा को यात्रा सुनिश्चित गरेका छन् ।



यो निर्वाचनमा सुदूरपश्चिमका १६ सिटका लागि कुल २०६ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए । जसमध्ये १६ जनाले मतदाताको विश्वास जितेर संसद्को ढोका खोलेका छन् भने बाँकी १ सय ९० जना उम्मेदवारहरू पराजित भएका छन् ।


निर्वाचन आयोगको तथ्याङ्क अनुसार, चुनावी प्रतिस्पर्धामा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत विभिन्न साना दल र ठुलो सङ्ख्यामा स्वतन्त्र उम्मेदवारहरू सहभागी थिए । विजयी हुने १६ जना सांसदहरू मध्ये १० जना रास्वपाका, ३ जना एमाले र ३ जना कांग्रेसका छन् । यी दल बाहेक अन्यले चुनाव जितेनन् । पराजित हुने १९० जनामा कतिपय स्थापित नेताहरू र कतिपय पहिलो पटक चुनावी अनुभव बटुलेका युवा तथा स्वतन्त्र उम्मेदवारहरू रहेका छन् ।





