धनगढी उपमहानगरपालिकामा जग्गा प्रशासन तथा भू–सूचना प्रणालीसम्बन्धी तालिम सुरु

धनगढी- धनगढी उपमहानगरपालिकामा कैलाली र कञ्चनपुर जिल्लाका स्थानीय तहका कर्मचारीहरूलाई लक्षित गर्दै जग्गा प्रशासन तथा भू–सूचना प्रणालीसम्बन्धी दुई दिने तालिम सुरु भएको छ।

कैलाली तथा कञ्चनपुरका विभिन्न स्थानीय तहका प्रतिनिधि तथा कर्मचारी सहभागी रहेको उक्त तालिममा कुल ४३ जनाको सहभागिता रहेको छ। स्थानीय तहमा भूमिसम्बन्धी काम प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। भूमि व्यवस्थापन तथा अभिलेख विभागको आयोजना तथा धनगढी उपमहानगरपालिकाको सहकार्यमा तालिम सञ्चालन गरिएको हो।

धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले भूमिसम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने सरकारी योजनाअनुसार कर्मचारीहरूलाई आवश्यक ज्ञान र सिप प्रदान गर्न तालिम अत्यावश्यक रहेको बताए।

त्यसैगरी मन्त्री इङ्नामले स्थानीय तहलाई प्रदान गरिएको भूमिसम्बन्धी अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्न यस्ता तालिम महत्त्वपूर्ण हुने उल्लेख गरे। उनले धनगढी उपमहानगरपालिकाले देखाएको सक्रियताजस्तै अन्य पालिकाहरूले पनि अग्रसरता देखाए भूमिसम्बन्धी कामकाज सहज र प्रभावकारी हुने धारणा व्यक्त गरे।

मन्त्रालयले वडास्तरबाटै भूमिसम्बन्धी सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्ने दिशामा काम गरिरहेको समेत उनले जानकारी दिए।

Loading...