धनगढी- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजामा सुदूरपश्चिम प्रदेश देशभरका सातै प्रदेशमध्ये पहिलो स्थानमा परेको छ।
आयोगले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार सुदूरपश्चिम प्रदेशले कुल ४५.७० अंक प्राप्त गर्दै अग्रस्थान हासिल गरेको हो। दोस्रो स्थानमा रहेको कोशी प्रदेशले ४४.२९ अंक पाएको छ।

त्यसैगरी बागमती प्रदेशले ४२.४६, गण्डकी प्रदेशले ३७.९१, लुम्बिनी प्रदेशले ३४.७१, कर्णाली प्रदेशले ३२.२६ तथा मधेश प्रदेशले सबैभन्दा कम २७.२८ अंक प्राप्त गरेका छन्।
आयोगका अनुसार प्रदेशहरूको मूल्याङ्कन प्रशासनिक क्षमता, वित्तीय अनुशासन, योजना कार्यान्वयन, सुशासन तथा सेवा प्रवाहका विभिन्न सूचकका आधारमा गरिएको हो। सुदूरपश्चिम प्रदेश पहिलो स्थानमा आउनु प्रदेश सरकारको कार्यसम्पादन, स्रोत व्यवस्थापन र प्रशासनिक सुधारको सकारात्मक परिणामका रूपमा हेरिएको छ।
