मुआब्जा विवाद टुंगिएपछि धौलीगाड पुलको काम अघि बढ्यो

दार्चुला- महाकाली लोकमार्ग अन्तर्गत पर्ने खलङ्गा–गोकुलेश्वर सडकखण्डको धौलीगाड खोलामा १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको मोटरेबल पुलको निर्माण कार्य पुनः सुरु गरिएको छ। सङ्घीय सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा दुई करोड रुपैयाँ बजेट विनियोजन गरेपछि पुल निर्माणको बाँकी काम अघि बढाइएको हो।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय बैतडीका इन्जिनियर तथा सूचना अधिकारी कपिलप्रसाद पन्तका अनुसार पुलको बायाँतर्फको पिल्लर करिब ७० प्रतिशत निर्माण भइसकेको छ भने बाँकी संरचना निर्माण गर्नुपर्नेछ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

उक्त पुल निर्माणका लागि आर्थिक वर्ष २०७०/७१ मा धनगढीस्थित आशिष कन्स्ट्रक्सनसँग सम्झौता भई काम सुरु भएको थियो। तर पुल निर्माण हुने स्थानको जग्गा मुआब्जा विवादका कारण काम रोकिएको थियो। महाकाली नगरपालिका–५, गल्फैस्थित निर्माणस्थलका ७–८ जना जग्गाधनीले सरकारी मूल्यअनुसार मुआब्जा माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि निर्माण कार्य पूर्ण रूपमा ठप्प भएको थियो।

जग्गाधनीलाई मुआब्जा वितरण भएपछि अब निर्माणको बाटो खुलेको छ। बाँकी काम सम्पन्न गर्न पुरानै निर्माण कम्पनी आशिष कन्स्ट्रक्सनसँग २०८३ असार १५ गतेभित्र कार्य सम्पन्न गर्ने गरी नयाँ सम्झौता गरिएको छ।

धौलीगाड खोलामा २५ मिटर लम्बाइको स्पान पुल निर्माण गरिने बताइएको छ। पुल निर्माण हुन नसक्दा वर्षात्का समयमा छोटो तथा लामो दूरीका सवारीसाधनलाई वारपार गर्न कठिनाइ हुँदै आएको स्थानीयले बताएका छन्। निर्माण कम्पनीका प्रतिनिधि लालबहादुर चन्दले तोकिएको समयसीमाभित्रै पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Loading...