सुदूरपश्चिममा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दो

फागुन २१ को चुनावमा १६ क्षेत्रमा २०६ उम्मेदवार मैदानमा

धनगढी- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशभर चुनावी सरगर्मी तीव्र बनेको छ। राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले आन्तरिक बैठक, भेला र रणनीति तय गर्दै प्रचारप्रसार थालेसँगै चुनावी चहलपहल बढेको हो।

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीजस्ता ठूला दलहरू पुरानो जनाधार जोगाउने रणनीतिसहित मैदानमा उत्रिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टीलगायत दल र स्वतन्त्र उम्मेदवारले पनि चुनाव केन्द्रित गतिविधि तीव्र पारेका छन्।

godawari10 Mahila hinsa
Navadurga sun

धेरै उम्मेदवारले सामाजिक सञ्जाललाई मुख्य प्रचार माध्यम बनाएका छन्। कतिपयले घरदैलो अभियानसमेत सुरु गरिसकेका छन्। तर सामाजिक सञ्जालमार्फत जथाभावी प्रचार सामग्री प्रयोग हुँदा मतदातामा अन्योल सिर्जना भएको स्थानीयको गुनासो छ।
स्थानीय चेतराज ओझा भन्छन्, “सामाजिक सञ्जालको दुरुपयोगले सही सूचना प्रवाह हुन सकेको छैन, यसलाई नियमन नगरेसम्म स्वच्छ र निष्पक्ष निर्वाचन सम्भव हुँदैन।”

जेन–जी आन्दोलनपछिको राजनीतिक परिवेशमा प्रचारशैली फेरिएको देखिन्छ। उम्मेदवारहरूले सूचना प्रविधिलाई केन्द्रमा राखेका छन्। पूरा कार्यकाल नटुंगिँदै पुनः निर्वाचन हुन लागेकोप्रति कतिपय मतदाता निराश छन्। धनगढीका भोजराज पाण्डेय भन्छन्, “राजनीतिक अस्थिरताका लागि दलहरू नै जिम्मेवार छन्, तर निर्वाचनमार्फत स्थायित्व दिनुपर्ने दायित्व पनि तिनकै हो।”

डडेलधुरा, कैलाली र कञ्चनपुर बढी चासोमा

Dadeldhura hospital

यस निर्वाचनमा डडेलधुरा, कैलाली क्षेत्र–४ र ५, अछाम–१ तथा कञ्चनपुर–२ र ३ लाई बढी चासोका साथ हेरिएको छ।

डडेलधुरा, जहाँ कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विसं २०४८ देखि २०७९ सम्म लगातार विजयी हुँदै आएका थिए, यसपटक देउवा प्रत्यासी नभएकाले कांग्रेसका लागि चुनौती थपिएको छ। कांग्रेसले युवा नेता नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। सो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी १३ जना प्रतिस्पर्धामा छन्।

कञ्चनपुर–३ मा निवर्तमान गृहमन्त्री रमेश लेखक प्रत्यासी नहुँदा चासो बढेको छ। कांग्रेसले हरि बोहरालाई उम्मेदवार बनाएको छ। यहाँ १७ जनाबीच प्रतिस्पर्धा छ।
कञ्चनपुर–२ मा कांग्रेसका एनपी साउद, एमालेका बचनबहादुर सिंह, रास्वपाका दीपकराज बोहरासहित १९ जना मैदानमा छन्।

कैलाली क्षेत्र–४ मा एमाले उपमहासचिव लेखराज भट्ट उम्मेदवार बनेपछि प्रतिस्पर्धा चर्किएको छ। अघिल्लो निर्वाचनमा विजयी कांग्रेसका वीरबहादुर बलाएर उम्मेदवार छैनन्। कांग्रेसबाट आनन्द विष्ट प्रतिस्पर्धामा छन्।
अछाम–१ मा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलसहित कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।

प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी पर्ने कैलाली क्षेत्र–५ लाई व्यापारिक र राजनीतिक केन्द्रका रूपमा लिइँदै आएको छ। यहाँ कांग्रेसका डिल्लीराज पन्त प्रत्यासी छैनन्। कांग्रेसबाट नरनारायण शाह उम्मेदवार छन् भने एमाले, माओवादी केन्द्र, रास्वपा र अन्य दलका गरी १५ जना प्रतिस्पर्धामा छन्।

१६ क्षेत्रमा २०६ उम्मेदवार

१६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा राजनीतिक दल र स्वतन्त्र गरी कुल २०६ उम्मेदवार चुनावी मैदानमा छन्। निर्वाचन नजिकिँदै जाँदा प्रचारप्रसार अझ तीव्र हुने अपेक्षा गरिएको छ।

Loading...