बैतडीमा निर्वाचन म्यादी प्रहरीको आवेदन मागभन्दा कम, दुई दिन म्याद थप

बैतडी- फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडी जिल्लामा माग गरिएको निर्वाचन म्यादी प्रहरी सङ्ख्याभन्दा करिब दुई सय कम आवेदन परेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार निर्वाचन सुरक्षाका लागि १ हजार ३७५ जना म्यादी प्रहरी माग गरिएकोमा माघ १ गतेसम्म १ हजार २० जनाले मात्र आवेदन दिएका छन् । मागभन्दा कम आवेदन परेपछि आवेदन दिने समय दुई दिन थप गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यसअघि माघ १ गते अन्तिम मिति तोकिए पनि अपेक्षित आवेदन नपरेपछि माघ ३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

यसैबीच, प्रतिनिधि सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशभर १३ हजार ६६९ जना निर्वाचन म्यादी प्रहरी माग गरिएको छ । माघ १ गतेसम्म प्रदेशभर १६ हजारभन्दा बढी आवेदन परिसकेका छन् । प्रदेशका नौ जिल्लामध्ये बैतडीसहित अछाम, बझाङ, डडेलधुरा र डोटी जिल्लामा मागभन्दा कम आवेदन परेका कारण ती जिल्लामा दुई दिन म्याद थप गरिएको छ ।

तर कैलाली, कञ्चनपुर, बाजुरा र दार्चुला जिल्लामा भने मागभन्दा बढी आवेदन परेका छन् । कैलाली जिल्लामा ३ हजार ५७६ जना म्यादी प्रहरी माग गरिएकोमा ५ हजार १५१ जनाले आवेदन दिएका छन् । कञ्चनपुरमा २ हजार ३५ जना माग गरिएकोमा २ हजार ९०६ जनाको आवेदन परेको छ । त्यसैगरी दार्चुलामा ८७४ जना माग गरिएकोमा १ हजार ५४१ जनाको आवेदन परेको छ।

बाजुरामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १ हजार ६० जना म्यादी प्रहरी माग गरिएकोमा १ हजार २०८ जनाले दरखास्त दिएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुरामा १ हजार ८५ जना र सशस्त्र प्रहरी बल बाजुरामा १२३ जनाको आवेदन परेको जनाइएको छ । आवेदन दिनेहरूमा ४२८ महिला र ७८० पुरुष रहेका छन् ।

Loading...