नागरिक उन्मुक्ति पार्टीका दुई धारबीच पुनः एकता हुने

काठमाडौँ- रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच पुनः एकता हुने भएको छ। गत भदौमा विभाजन भएको यी दुई पार्टीबीच शनिबार औपचारिक एकता घोषणा हुने तय भएको हो।

श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा फसेपछि चौधरीले भदौ २९ गते पार्टीबाट अलग भएको घोषणा गरेका थिए। त्यसपछि उनले कात्तिक २ गते निर्वाचन आयोगमा आफू संरक्षक रहने गरी कविर सोबको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता गराएका थिए।

Navadurga sun

नागरिक उन्मुक्ति पार्टी नेपालले यसअघि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग चुनावी एकता गरी एउटै चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने सहमति गरिसकेको छ।

अब रञ्जिता श्रेष्ठ नेतृत्वको पार्टीले नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकता गर्न लागेको पुष्टि स्वयं श्रेष्ठले गरेकी छन्। उनले भनिन्, “केही कारणले पार्टी छुट्टिएको थियो, फेरि प्रयास गरेर मिलाइएको हो।”

पार्टीका उपाध्यक्ष अब्दुल खानका अनुसार एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल रहनेछ। एकीकृत पार्टीको झन्डा र चुनाव चिन्ह पनि नागरिक उन्मुक्ति पार्टी नेपालकै रहने सहमति भएको छ।

रेशम चौधरी जेलमा रहेको बेला २०७८ पुसमा रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो। २०७९ को निर्वाचनमा पार्टीले उल्लेख्य सफलता हासिल गरेको थियो। तर २०८० पुसमा सम्पन्न महाधिवेशनपछि अध्यक्ष पदलाई लिएर विवाद चर्किँदै गयो।

महाधिवेशनबाट चौधरी अध्यक्ष चयन भएपछि रञ्जिता श्रेष्ठ असन्तुष्ट बनेकी थिइन्। विवाद निर्वाचन आयोगसम्म पुगेपछि आयोगले अध्यक्षमा श्रेष्ठलाई नै मान्यता दिएको थियो। त्यसपछि पार्टीभित्र गुटगत राजनीति बढ्दै गएको थियो, जसको असर प्रदेश सरकार र केन्द्रसम्म देखिएको थियो।

लगातारको विवादपछि चौधरीले अलग पार्टी गठन गरेका थिए। करिब पाँच महिनापछि पुनः एकताको प्रयास सफल हुँदै दुई पार्टी एक ठाउँमा आउने भएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...