सुदूरपश्चिममा एक महिनामै ५२४ फरार प्रतिवादी पक्राउ

अत्तरिया- सुदूरपश्चिममा एक महिनाको अवधिमा ५२४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । आइतबार प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डीआईजी) ओमबहादुर रानाले सो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

डीआईजी रानाका अनुसार मंसिर महिनामा विभिन्न कसुरमा २५६ वटा मुद्दा दर्ता भएका छन्, जसमा चालु मुद्दाका २१४ प्रतिवादी पक्राउ परेका छन् । सार्वजनिक चासोका २ हजार ५३८ पेन्डिङ मुद्दामध्ये ११४ मुद्दा फछ्र्यौट गरिएको छ । साथै फैसला कार्यान्वयनका क्रममा रहेका ५२४ जना फरार प्रतिवादी पक्राउ गरिएको उनले बताए । उनीहरूबाट एक करोड ६१ लाख ९९ हजार २९१ रुपैयाँ जरिवाना असुल गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी २८ मुद्दा दर्ता भएका छन् । घरेलु हिंसातर्फ परेका ८० उजुरीमध्ये ६५ उजुरी मिलापत्रबाट टुंग्याइएका छन् भने ८ उजुरी अदालत पठाइएको छ। यसैगरी ८११ वटा ठाडो उजुरीमध्ये ७५७ उजुरी फछ्र्यौट भइसकेका छन् ।

प्रदेशभर मंसिर महिनामा ३१ वटा आत्महत्याका घटना भएका छन् । हराएका १५५ जनामध्ये ९० जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको प्रहरीको भनाइ छ।

Dadeldhura hospital

लागुऔषध नियन्त्रणतर्फ प्रहरीले १ किलो २३९ ग्राम गाँजा, २७ किलो ५८१ ग्राम चरेश र ११८ ग्राम ४३८ मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ । यस सम्बन्धमा ५६ मुद्दा दर्ता गरी २ महिला र ८६ पुरुष गरी ८८ जनालाई पक्राउ गरिएको छ ।

सामुदायिक सुरक्षातर्फ प्रदेशभर १ हजार १२२ पटक विभिन्न समुदाय तथा विद्यालय केन्द्रित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । ट्राफिक व्यवस्थापनतर्फ १३० सवारी दुर्घटनामा १० जनाको मृत्यु र २१४ जना घाइते भएका छन्। ट्राफिक कारबाहीमा ३ हजार २८० सवारी साधन परेका छन्, जसबाट रु २६ लाख २४ हजार ५ सय राजस्व संकलन भएको छ ।

यसैगरी अवैध रूपमा भन्सार छलि ल्याइएका अन्दाजी रु ९६ लाख ४४ हजार ५ सय बराबरका सामान बरामद गरी भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

यस्तै गत भदौ २४ मा भएको आन्दोलनका क्रममा प्रदेशका विभिन्न कारागारबाट भागेका कैदीबन्दी मध्ये ३६५ जना बन्दी कारागार नफर्केको डीआईजी रानाले बताए ।कारागारबाट भागेका मध्ये ६५ जना भारतीय कैदी रहेका छन् । फरार रहेका मध्ये धेरैजसो कैदीबन्दी भारत भागेको प्रहरीको अनुमान छ ।

डीआईजी रानाले आगामी दिनमा पनि शान्ति–सुरक्षा, अपराध नियन्त्रण र नागरिकमैत्री सेवामा प्रदेश प्रहरी अझ प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले लागुऔषध नियन्त्रणका लागि सबैसँग सहकार्य गर्ने जानकारी दिए । यस्तै आफूहरु फागुन २१ गते हुने निर्वाचनका लागि सुरक्षा दिन तयार रहेको पनि उनको भनाइ छ ।

Loading...