अत्तरिया- गोदावरी नगरपालिका वडा नं. २, अत्तरियामा रहेको सत्यवती एकेडेमीको आयोजनामा सम्पन्न प्रथम “सत्यवती छात्र फुटबल कप २०८२” प्रतियोगिताको समापन समारोहमा विद्यालयका संस्थापक वीर बहादुर कडायतले विद्यार्थीहरूलाई खेलकुदप्रति आकर्षित गर्न एकेडेमीले ग्रासरुट तहबाट खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन् ।


पढाइसँगै खेलकुदमा जोड


समापन कार्यक्रममा बोल्दै सत्यवती एकेडेमीका संस्थापक वीर बहादुर कडायतले खेलकुदलाई विद्यार्थीहरूको सर्वाङ्गीण विकासको आधारका रूपमा लिइएको बताए । “पढाइसँगै जीवन जिउने कला सिकाउनु आवश्यक छ । सबल र सक्षम जीवनका लागि आवश्यक हरेक सीप विद्यालय मार्फत प्रदान गर्नुपर्छ भन्ने सोचका साथ हामी अघि बढिरहेका छौं,” उनले भने ।
उनका अनुसार सत्यवती एकेडेमी पढाउने संस्थामात्र नभई बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा केन्द्रित विद्यालय हो ।
विद्यार्थीको उत्साहले थप प्रेरणा
खेलमैदानमा देखिएको विद्यार्थीहरूको समर्पण र फुटबलप्रतिको उत्साहले आफूलाई निकै प्रेरित बनाएको बताउँदै कडायतले आगामी वर्षहरूमा यस्ता खेलकुद प्रतियोगिताहरूलाई अझ भव्य र व्यवस्थित रूपमा आयोजना गरिने जानकारी दिए ।

२१ विद्यालयलाई फुटबल वितरण
ग्रासरुट तहबाटै विद्यार्थीहरूलाई खेलप्रति प्रेरित गर्न एकेडेमीले सामुदायिकतर्फका २१ आधारभूत विद्यालयलाई प्रत्येक विद्यालयलाई दुई–दुई वटा फुटबल वितरण गरेको छ । साथै समापन समारोहका अवसरमा १३ आधारभूत विद्यालय र दुई क्लबलाई पनि दुई–दुई वटा फुटबल प्रदान गरिएको छ ।
युवा खेलाडीको प्रेरणादायी सहयोग
कार्यक्रममा अत्तरियाका युवा खेलाडी विनोद दर्लामी मगरले समैजी माध्यमिक विद्यालयका विद्यार्थी खेलाडी अनिश नेपालीलाई फुटबल बुट सहयोग गरेका छन् । खेलप्रति रुचि र प्रतिभा भएका विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको मगरले बताए ।
सपनातर्फको यात्रा
सत्यवती एकेडेमीको यो पहल खेलकुद कार्यक्रममात्र नभई सम्भावनाको खोज हो । ग्रासरुट तहमा गरिएको लगानीले भविष्यका खेलाडी उत्पादन गर्न मात्र होइन, अनुशासन, आत्मविश्वास र नेतृत्व विकासमा समेत योगदान पुर्याउने विश्वास विद्यालयले लिएको छ ।
यो पनि पढ्नुहोस्ः सत्यवती एकेडेमी (वि) प्रथम सत्यवती छात्र फुटबल कप २०८२ को विजेता





