


धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका किसानलाई राहत हुने गरी धान खरिद तथा मलखाद अनुदानको कोटा वृद्धि गर्न संघीय सरकारसँग माग गरेका छन् । अर्थमन्त्री रामेश्वर खनालसँग धनगढीमा भएको भेटवार्ताका क्रममा शाहले यस्तो माग अघि सारेका हुन् ।


मुख्यमन्त्री शाहका अनुसार यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुदूरपश्चिमका लागि तोकेको ३५ हजार क्विन्टल धान खरिद कोटा अपर्याप्त भएको छ । खाद्य व्यवस्थापन कम्पनीले ३८ हजार ९४८ क्विन्टल धान यति नै बेला खरिद गरिसकेको अवस्थामा किसानहरूको उत्पादन बजारमै थन्किएको भन्दै कोटा थप ५० हजार क्विन्टलले बढाउन आग्रह गरिएको हो ।



त्यस्तै, मलखाद अनुदान कोटा आवश्यकताअनुसार १३ प्रतिशत हुनुपर्नेमा हाल ६ प्रतिशतमा सीमित रहेकाले यसको तत्काल समाधान खोजिदिन माग गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटवार्तामा डडेल्धुरा सदरमुकामको सडक स्तरोन्नतिका लागि अविलम्ब ठेक्का प्रक्रिया अघि बढाई योजनालाई बहुवर्षीय कार्यक्रमका रूपमा अघि सार्न पनि मुख्यमन्त्रीले सरकारको ध्यानाकर्षण गराए ।
बैठकमा प्रदेशका विकास आयोजना, कृषि, आर्थिक व्यवस्थापन, अर्थ मन्त्रालयको परिपत्रअनुसार सेवासुविधा कटौती, प्रहरी तथा निजामती समायोजन, आगजनीबाट भएको क्षति तथा खर्च कटौतीका प्रयासबारे समेत छलफल भएको थियो ।





