धनगढी- धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसमा ‘सुदूरपश्चिम जेन्जी भेला तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा सुदूरपश्चिमका जेन्जी युवाहरूलाई एकजुट गराउने र नेपालको वर्तमान राजनीतिक परिस्थितिमा सक्रिय सहभागिताका लागि प्रेरित गर्ने उद्देश्य राखिएको थियो ।


भदौ २३/२४ का घटनाबारे छलफल गर्दै युवा अभियानकर्ता हेमराज थापाले ७६ जनाले ज्यान गुमाएको भन्दै दोषीको कारबाही माग गरे । उनले सुदूरपश्चिमका युवाहरू बढी प्रभावित भएको र हाल पनि केही युवाहरू पक्राउमा रहेको बताए । थापाले भ्रष्टाचार, विकासको अभाव र क्षेत्रीय समस्याप्रति नेताहरूको अनिच्छा दुःखद भएको बताए र अब देश बनाउन जेन्जी युवाहरूको भूमिकालाई महत्वपूर्ण ठहराए ।



कार्यक्रममा सहभागी युवाहरूले नयाँ सरकारले जेन्जी आन्दोलनका मुद्दा, भ्रष्टाचार, बेरोजगारी, विकासको कमी, सुरक्षा अभाव र शासकीय निष्क्रियता सम्बोधन गरिरहेको छ कि छैन भन्ने प्रश्न उठाए ।
मंसिर १० गते शान्तिपूर्ण आन्दोलनमा घाइते भएकी सरिता जोशीले सबै जेन्जी एकजुट भएर समाजिक विकासमा सक्रिय हुनुपर्ने बताए ।
कार्यक्रममा हेमराज थापा, खेमराज साउँद, यादव सिंह, सन्तोष रावल, सरिता जोशी, गोविन्द भण्डारी र नितीश जोशी लगायतले सम्बोधन गरे । समन्वयकर्ता विशाल भट्टले जेन्जी पुस्ताले नेतृत्वको भूमिकामा अघि सर्नुपर्ने र युवाहरूको एकता नै सुदूरपश्चिम र देश परिवर्तन गर्ने शक्ति भएको बताए ।
आयोजकहरूको अनुसार, यस कार्यक्रमले सुदूरपश्चिमका जेन्जी युवाबीच राजनीतिक चेतना, एकता र प्रतिवद्धता मजबुत बनाएको छ ।





