बाजुरा र कैलालीमा सञ्चालित आँखा शिविर सम्पन्न, करिब १७ सय जनाको निःशुल्क उपचार

धनगढी- गेटा आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ र ‘एक-एक पाइला’को आयोजना तथा विभिन्न सामाजिक संस्थाको सहयोगमा बाजुराको कोल्टी र कैलालीको मसुरियामा आँखा शिविर सम्पन्न भएको छ। दुबै ठाउँको आँखा शिवरमा एक हजार ६८७ जनाको उपचार गरिएको छ।

कोल्टीमा कात्तिक २४ देखि २७ गतेसम्म शल्यक्रिया सेवा प्रदान गरिएको हो भने मसुरियामा कात्तिक २९ गते आँखा परीक्षण शिविर सञ्चालन भएको गेटा आँखा अस्पतालले जनाएको छ। दुबै स्थानमा बिरामीहरूले निःशुल्क आँखा उपचार सेवा प्राप्त गरेका हुन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कोल्टीमा १४३ जनामा मोतिविन्दुको दृष्टि पुनःस्थापना गरिएको छ भने मसुरियामा ५७ जनालाई निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि गेटा आँखा अस्पताल पठाइएको हो। अन्य बिरामीलाई भने शिविरमै निःशुल्क औषधि वितरण गरिएको अस्पतालले जनाएको छ।

यसबाहेक, चश्माको आवश्यकता भएका १२७ जनालाई विशेष छुटमा चश्मा उपलब्ध गराइएको अस्पतालले जनाएको छ।

कोल्टीमा वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सुमन थापाको नेतृत्वमा १४ जना प्राविधिक तथा मसुरियामा १० जना प्राविधिकले सेवा प्रदान गरेको अस्पतालले जानकारी दिएको छ। शिविरको व्यवस्थापनमा स्थानीय प्रशासन, स्वास्थ्यकर्मी, विद्यार्थी र स्वयंसेवकहरू सक्रिय रहेका थिए।

गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले यस्ता शिविरहरूले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवा पहुँचयोग्य बनाउँदै अन्धोपन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्।

Loading...