शुक्लाफाँटाका किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको आलुको बीउ वितरण गरिने भएको छ। किसानलाई व्यावसायिक आलु खेतीतर्फ प्रोत्साहित गर्न कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्षको विशेष पकेट क्षेत्र कार्यक्रमअन्तर्गत यो योजना अघि बढाइएको हो।

कार्यक्रम ध्रुवतारा सामुदायिक कृषि सहकारी संस्थाको सहकार्यमा सञ्चालन हुँदैछ। सहकारीका अध्यक्ष लालबहादुर ऐरका अनुसार बर्दियाबाट प्रति किलो ८० रुपैयाँमा खरिद गरिएको कार्डिनल जातको आलुको बीउ किसानलाई ४० रुपैयाँका दरले उपलब्ध गराइनेछ।

Navadurga sun

‘हामीले ५० क्विन्टल आलुको बीउ ढुवानी गरेर ल्याएका छौं,’ अध्यक्ष ऐरले भने, ‘एक–दुई दिनभित्रै सहकारीमा आवद्ध किसानलाई वितरण सुरु गर्नेछौं। यो पहलले किसानको आयस्तर वृद्धि र व्यावसायिक खेतीतर्फ डोर्याउने अपेक्षा गरिएको छ।’

सहकारीका सदस्य किसानहरूले कम्तीमा पाँच कठ्ठादेखि दश कठ्ठासम्म जमिनमा आलु खेती गर्ने तयारी गरेका छन्। करिब पाँच बीघा क्षेत्रफलमा आलु खेती विस्तार हुने र करिब १२० जना किसान प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ।

‘यस वर्ष लगाइने आलुबाट बीउ उत्पादन गरी आगामी वर्ष दोब्बर क्षेत्रफलमा खेती विस्तार गर्ने हाम्रो लक्ष्य छ,’ ऐरले थपे।

सहकारीमा आवद्ध किसानहरूले यसअघि चैते धान र उन्नत जातका तोरी खेती गर्दै आएका छन्। सहकारीले सदस्यहरूलाई सुपथ मूल्यमा रासायनिक मल, खाद र बीउविजन उपलब्ध गराउँदै आएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख हरिप्रसाद पनेरुका अनुसार बीउ वितरणसँगै आलु खेतीमा संलग्न किसानलाई साना सिँचाइ योजना, उद्यमशीलता विकास, साना उद्योग स्थापना र कृषि पूर्वाधार निर्माणका लागि पनि अनुदान रकम उपलब्ध गराइनेछ।

शुक्लाफाँटाका लागि स्थानीय तह विशेष पकेट क्षेत्र कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा रु. ४० लाख बजेट विनियोजन गरिएको छ। सोही कार्यक्रमअन्तर्गत पुनर्वास नगरपालिकामा आलु र प्याज खेती, बेदकोट, दोधारा–चाँदनी र बेलडाँडी गाउँपालिकामा आलु खेतीका लागि पनि रु. ४०–४० लाखको अनुदान योजना तयार गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार यी कार्यक्रमहरूले किसानलाई आधुनिक प्रविधियुक्त र व्यावसायिक खेतीतर्फ उन्मुख गराउने, आत्मनिर्भरता बढाउने र प्रदेशस्तरमा कृषिजन्य उत्पादन वृद्धि गर्ने लक्ष्य लिएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...