सात वर्षमा सुदूरपश्चिममा ८९ पक्की पुल र ५ हजार ५ सय किलोमिटर सडक निर्माण

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले सात वर्षको अवधिमा ८९ वटा पक्की पुल र करिब ५ हजार ५ सय किलोमिटरभन्दा बढी सडक निर्माण गरेको छ। आर्थिक वर्ष २०७५/७६ देखि २०८१/८२ सम्मको अवधिमा सडक र पुल निर्माणका लागि २३ अर्ब ३ करोड १३ लाख ८१ हजार रुपैयाँ खर्च भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २०७५/७६ अघि प्रदेशभर ३ हजार ९५४ किलोमिटर कच्ची सडक थियो। पछिल्ला वर्षमा १ हजार ५९३ किलोमिटर थपिएर हाल कच्ची सडकको लम्बाइ ५ हजार ५४७ किलोमिटर पुगेको छ। त्यस्तै, ग्राभेल सडक १ हजार ११५८ किलोमिटरबाट बढेर २ हजार ३०७ किलोमिटर पुगेको र कालोपत्र सडक २३४ किलोमिटरबाट बढेर ८५६.६७ किलोमिटर पुगेको छ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

प्रदेश सरकारले यस अवधिमा ८९ पक्की पुल र २ सय ९३ झोलुंगे पुल निर्माण गरेको छ। आवधिक योजनाअनुसार १८ पक्की पुल निर्माण गर्ने लक्ष्य राखिए पनि लक्ष्यभन्दा बढी पुल बनेका मन्त्रालयले जनाएको छ। यद्यपि, प्रदेश गौरवका नाममा सुरु गरिएका ९ वटा सडक आयोजना मध्ये अहिलेसम्म एक पनि पूर्ण नभएको उल्लेख गरिएको छ। धनगढी चार लेन सडक, क्याम्पस रोड–जुगेडा र भजनी–सुख्खड सडक केही अंशमा मात्र सम्पन्न भएका छन्।

मन्त्रालयका इन्जिनियर रामचन्द्र खत्रीका अनुसार प्रदेशका ८६ स्थानीय तहका केन्द्र सडक सञ्जालमा जोडिएका छन् तर बझाङको साइपाल र दार्चुलाको अपिहिमाल गाउँपालिकाका केन्द्र अझै सडक पहुँच बाहिर छन्। ८५ प्रतिशत जनसंख्यालाई आधा घण्टाभित्र सडक यातायात पहुँच पुर्‍याउने लक्ष्य भने पूरा हुन सकेको छैन।

चालु आर्थिक वर्षमा सडक र पुल निर्माणका लागि प्रदेश सरकारले ६ अर्ब ९१ करोड ६२ लाख १७ हजार रुपैयाँ विनियोजन गरेको छ। प्रदेश गौरवका सडकमा हालसम्म २२८ किलोमिटर कालोपत्र भएको र २०८३/८४ सम्म ९ सय किलोमिटर निर्माण गर्ने लक्ष्य भए पनि बजेट अभाव र बहुवर्षीय ठेक्का प्रणालीका कारण लक्ष्य पूरा हुने सम्भावना न्यून देखिएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ।

Loading...