नेपाली सेनालाई क्याम्ब्रियन पट्रोल गस्ती अभ्यासमा स्वर्ण पदक

संयुक्त अधिराज्यको वेल्स राज्यमा आयोजित क्याम्ब्रियन पट्रोल एक्सरसाइज २०२५ (Cambrian Patrol Exercise 2025) मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ।

अक्टोबर ३ देखि १२ तारिखसम्म चलेको उक्त अन्तर्राष्ट्रिय सैन्य गस्ती अभ्यासमा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उच्च अंक प्राप्त गरेपछि स्वर्ण पदक हात पारेको हो।

Navadurga sun

नेपाली सेनाका मेजर कसम श्रेष्ठ र क्याप्टेन वीरेन्द्र मलासीको नेतृत्वमा १० जनाको टोलीले अभ्यासमा सहभागिता जनाएको थियो। उक्त अभ्यासमा कुल ११७ टिम सहभागी थिए, जसमा ३३ देशबाट आएका ३५ अन्तर्राष्ट्रिय टोलीसमेत समावेश थिए।

लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहका अनुसार, नेपाली सेनाले पछिल्ला वर्षहरूमा निरन्तर रूपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। गत वर्ष पनि नेपाली सेनाले क्याम्ब्रियन पट्रोल अभ्यासमा स्वर्ण पदक जितेको थियो। सन् २०१७ र २०१९ मा समेत नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको थियो।

सन् १९६० देखि हरेक वर्ष आयोजना हुँदै आएको यो अन्तर्राष्ट्रिय स्तरको अभ्यासमा नेपाली सेनाले सन् २०१४ देखि सहभागिता जनाउँदै आएको हो।

बेलायती सेनाका अनुसार, उक्त अभ्यास अत्यन्त कठिन हुने गरी डिजाइन गरिएको छ। १० दिनसम्म चल्ने र आठ चरणमा विभाजित यस अभ्यासमा सहभागी टोलीले करिब ४८ घण्टाभित्र ६० किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ। टोलीका सदस्यहरूले करिब ७० पौण्ड (३२ केजी) तौल बराबरका हतियार, उपकरण तथा बन्दोबस्ती सामग्री बोकेर गस्ती पूरा गर्नुपर्छ।

अभ्यासका क्रममा लडाइँ तयारी, सूचना संकलन, घाइते तथा बिरामीको व्यवस्थापन लगायतका क्षमताको परीक्षण गरिन्छ। मानसिक र शारीरिक सहनशक्ति दुवैको कठोर परीक्षा हुने यो अभ्यासलाई विश्वकै सबैभन्दा चुनौतीपूर्ण सैन्य गस्ती अभ्यासमध्ये एक मानिन्छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...