

काठमाण्डौै- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी चार दिनसम्म पाँच प्रदेशमा अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार असोज १७ गते शुक्रबारदेखि असोज २० गते सोमबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको चेतावनीपछि यस्तो अनुरोध गरिएको हो।


विभागका अनुसार सो अवधिमा ती प्रदेशका विभिन्न जिल्लामा तीव्र वर्षा हुने सम्भावना रहेको छ। यसका कारण बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह आसपास पुग्ने र स–साना नदीहरूमा आकस्मिक बहाव हुने जोखिम देखिएको छ। साथै बाढी, डुबान र पहिरोको जोखिम उच्च हुने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।



विशेष गरी बागमती प्रदेशमा काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर र चितवन, कोशी प्रदेशमा सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा र मोरङ, तथा मधेश प्रदेशमा बारा, पर्सा, सर्लाही र रौतहटमा बढी जोखिम हुने भएकाले सम्बन्धित जिल्लामा विशेष सतर्कता आवश्यक हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले रातिको समयमा यात्रा नगर्न, जोखिमपूर्ण सडकमा सवारी सञ्चालन नियन्त्रण गर्न, तथा पहिरोको जोखिम रहेका स्थान र नदी किनारका बस्तीमा बस्ने नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ। साथै डुबान सम्भावित बस्तीका बासिन्दाले सुरक्षित स्थानबारे जानकारी लिनु र आवश्यक परे तत्काल सारिनु पर्ने चेतावनी दिइएको छ।
यसका साथै तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको छ। जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडरजस्ता उपकरण तुरुन्त परिचालन गर्न सकिने गरी तयारी गरिएको छ। जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिलाई निरन्तर सतर्क रहन र आपत्कालीन अवस्थामा छिटो निर्णय लिन निर्देशन दिइएको छ।
प्राधिकरणले नागरिकलाई पूर्वतयारी र सतर्कता अपनाउन, अत्यावश्यक नभएसम्म लामो यात्रा नगर्न र जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्दा थप सावधानी लिन आग्रह गरेको छ।