प्रतिनिधिसभाको बैठकबाट दुई विधेयक स्वीकृत, अर्को बैठक असोज ७ गते




काठमाडौँ, ४ असाेज– प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले स्वीकृत गरेको हो ।



आर्थिक विधेयकमाथिको दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही असोज ७ गतेका लागि छलफलको मिति तोकिएको छ । बैठकमा प्रस्तुत विधेयक उपरको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए । उनले राजस्वमा आधारित अर्थतन्त्रलाई उत्पादनमूलक अर्थतन्त्रमा परिमार्जन गर्दै लगिने सरकारको नीतिअनुरुप बजेटमा सामान्य हेरफेर गरिएको जानकारी दिए ।


अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रलाई मजबुद तुल्याउन कृषि, उद्योग प्रवद्र्धनका विषयलाई विधेयकले सम्बोधन गरेको बताए । यसअघि विनियोजन विधेयकलाई पारित गर्नुपूर्व सांसद प्रेम सुवालले राख्नु भएको खर्च कटौतीको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज ७ गते अपराह्न २ः०० बजे बस्नेछ ।



