




अछाम- अछाम जिल्लाका विभिन्न स्थानका किसान बँदेलले बाली नष्ट पार्न थालेपछि बाली जोगाउन रात भर जाग्राम बस्न बाध्य भएका छन् । यहाँका किसानले लगाएको बाली जङ्गली बँदेलले सखाप पार्दा रात भर टहरामा जाग्राम बस्न थालेका हुन् । पाक्न तयारी अवस्थामा रहेका अन्न बाली ठुलो सङ्ख्यामा आउने जङ्गली बँदेलले नोक्सान गर्न थालेपछि किसान खेतबारीमा रात बिताउन बाध्य भएका हुन् ।






धान, मकै, कोदो, भटमास, तरकारी लगायत खाद्यान्न बालीमा बथानका–बथान जङ्गली बँदेलले खाने गरेको स्थानीयले बताएका छन् । ढकारी गाउँपालिका वडा नम्बर ८, स्थानीयवासी कृष्ण प्रसाद उपाध्यायले बँदेलले बाली नोक्सान गरी सखाप पारेको बताए ।






उनले भने, “बँदेल धपाउन समूह बनाएर रात भर खेत बारीमा बास बस्छौँ तर, पनि खेती जोगाउन हम्मे–हम्मे भएको छ ।’’ यहाँ स्थित नेत्र प्रसाद जैशी, भोजराज उपाध्याय, पूर्ण जैशी लगायत ५०/६० जना कृषकले लगाएका अन्न बाली बँदेलले नष्ट गरेको जनाइएको छ । अन्न उत्पादन हुने साठीको माझि, देवकोट, दुवाडी, पलामाजि, फोगट्टेन सासेगैरा, पल्साता लगायतका ठाउँमा जङ्गली जनावर बँदेलले अन्न बाली नष्ट गरेको उपाध्यायले बताए ।

