


कैलाली- सुदूरपश्चिमका ६ हजार मिटर माथिका हिमालमा लामो समयदेखि आरोहण नभएको अवस्थामा अपि नाम्पा संरक्षण क्षेत्रमा एकै पटक ठुलो संख्यामा आरोहणको तयारी भएको छ । ‘समर स्किल फर प्रोफेसनल माउन्टेन गाइड कोर्स’ अन्तर्गत १४ विद्यार्थी र ६ प्रशिक्षक सहभागी टोलीले अपि हिमाल (७,१३२ मि.) र ल्हायुल पिक (६,३९५ मि.) आरोहण गर्ने भएका छन् ।



मुख्य प्रशिक्षक सञ्जीव गुरुङका अनुसार काठमाडौंमा दुई हप्ते सैद्धान्तिक तालिमपछि हाल अपि क्षेत्रमा प्रयोगात्मक तालिम हुँदैछ । सहभागीहरूले पहिलो पटक ल्हायुल पिकमा बाटो बनाएर आरोहण गर्ने र त्यसपछि १३ जनाको टोलीले अपि हिमाल चढ्ने योजना रहेको छ ।


नेपाल पर्यटन बोर्ड, युएनडिपी, नेपाल पर्वतारोहण संघ र अपि हिमाल गाउँपालिकाको सहकार्यमा आयोजना भएको यो कार्यक्रम सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । संघीय सरकारले हालै मात्र सुदूरपश्चिम–कर्णालीका ९७ हिमालमा दुई वर्षका लागि आरोहण शुल्क छुट दिने निर्णय गरेको छ ।





