




डडेल्धुरा- डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीवार बिहान भएको जीप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चार जनाको सनाखत भएको छ ।






उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले उनीहरुको घटनास्थलमै मृत्यु भएको बताए । मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।






डीएसपी जोराकाअनुसार दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते हुनेमा नवदुर्गा–५ बस्ने १८ वर्षीया सुशिला बिक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जीप चालक ३५ वर्षीय रामबहादुर साउद रहेका छन् । उनीहरु मध्ये बिक र रामबहादुर साउदको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

