गेटा अस्पतालमा आइसियु सेवा विस्तार हुँदै

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटा अस्पतालले निकट भविष्यमा आइसियु (ICU) र सिसियु (CCU) सेवा विस्तार गर्ने भएको छ। अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादवका अनुसार यसै भदौ महिनाभित्र १० बेडको आइसियु र ३ बेडको सिसियु सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। हाल ७५ बेड क्षमता रहेको अस्पताललाई थप सुविधा विस्तार गरेर अझै सशक्त बनाउने योजना रहेको उनले जानकारी दिए।

डा. यादवका अनुसार हाल अस्पतालमा १४१ जना दरबन्दी पदपूर्ति भइसकेको छ। आवश्यक परे थप स्कलरसिपका चिकित्सक र नर्स ल्याएर भए पनि यसै महिना नयाँ सेवा सुरु गर्ने तयारी छ। उनले आफ्नै कार्यकालको चार महिनाभित्र २४ घण्टा इमर्जेन्सी, ल्याब, एक्स–रे, एकद्वार संकट व्यवस्थापन प्रणाली (OCMC), सामाजिक सुरक्षा कार्यक्रम, दुई बेडको हाइ डिपेन्डेन्सी युनिट (HDU), २४ घण्टा फार्मेसीजस्ता सेवा थपिसकिएको जानकारी दिए।

Navadurga sun

अस्पतालले पहिलोपटक मेमोग्राम सेवा पनि सुरु गरेको छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा स्थापित गेटा अस्पतालले स्तन क्यान्सरको प्रारम्भिक जाँचका लागि मेमोग्राफी सेवा सञ्चालन गरिरहेको छ। मेमोग्राफीमार्फत स्तनभित्रको असामान्य गाँठो वा टिस्यु पहिचान गर्न सकिने भएकाले ४० वर्षभन्दा माथिका महिलाले नियमित जाँच गर्नुपर्ने चिकित्सकहरूले बताएका छन्। अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीका अनुसार गत आर्थिक वर्षमा ९६ जनाले मेमोग्राम सेवा लिएका थिए भने चालु वर्षको श्रावण महिनामात्रै २२ जनाको जाँच गरिएको छ।

त्यस्तै, गेटा अस्पतालले आर्थोस्कोपी सेवा पनि सुरु गरेको छ, जुन यस क्षेत्रमै पहिलोपटक उपलब्ध भएको हो। आर्थोस्कोपी प्रविधिबाट हड्डी तथा जोर्नीभित्रको समस्या पत्ता लगाउने र उपचार गर्ने गरिन्छ। यसअघि यस्तो सेवा नियमित रूपमा केवल टीकापुर अस्पतालमा मात्र उपलब्ध थियो।

अस्पतालले प्रदेशकै पहिलो मोड्युलर अपरेसन थिएटर (OT) र मोड्युलर ल्याब सेवा पनि सञ्चालनमा ल्याएको छ। पछिल्ला चार महिनामा अस्पतालमा कार्डियोलोजी, बालरोग/पेडियाट्रिक्स, नेफ्रोलोजी, न्युरोलोजी, मानसिक स्वास्थ्य (साइकेट्रिक) लगायतका विशेषज्ञ सेवा थपिएका छन्। साथै स्त्री रोग, सर्जरी र अर्थोपेडिक सेवामा पनि विस्तार भएको छ।

निर्देशक डा. यादवले गेटा अस्पताललाई आधुनिक र पूर्ण शिक्षण अस्पतालका रूपमा विकास गर्ने योजनासहित सेवा विस्तार भइरहेको बताए। उनका अनुसार नयाँ सेवाको थपसँगै यस क्षेत्रका नागरिकलाई राजधानी वा भारत धाउनुपर्ने अवस्था कम हुँदै गएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...