

अत्तरिया- नेपालकै पहिलो सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेको गेटा अस्पतालमा भिडियो एक्स–रे सेवा सीमित भएपछि बिरामीहरू हैरान बनेका छन् । अस्पतालले सबै सेवा उपलब्ध गराउने दाबी गरे पनि दैनिक अत्यावश्यक मानिने भिडियो एक्स–रे सेवा प्रति दिन २० जनामा सीमित भएपछि उपचारमा समस्या देखिएको हो ।


अस्पतालमा पछिल्लो समय विशेषज्ञ सेवा विस्तारसँगै दैनिक डेढ सयभन्दा बढी बिरामी आउने गरेका छन्। तर, अस्पतालले भिडियो एक्स–रेको संख्या सीमित गरेकाले धेरै बिरामी उपचार नपाएर फर्किन बाध्य छन्।


लिमिट सकियो भन्दै फर्काइयो
अत्तरियाकी कमला ताम्राकार छोरीको पेट दुखेपछि उपचारका लागि गेटा अस्पताल पुगेकी थिइन् । चिकित्सकले भिडियो एक्स–रे गराउन सिफारिस गरेपछि उनी बिल तिर्न बिल काउन्टरमा पुगेकी थिइन् । तर, “आजको लिमिट सकिएको छ” भन्दै उनलाई फिर्ता पठाइयो ।
“दिनको २० जनाको मात्र भिडियो एक्स–रे हुने रहेछ, जुन बिहानै प्याक भइसकेछ । यति ठूलो अस्पतालमा यस्तो सुविधा नहुनु अचम्मको कुरा हो,” उनले गुनासो गरिन् ।

तेस्रो दिनमा बल्ल एक्स–रे
सुनिता विकको अनुभव पनि उस्तै छ । उनले तीन दिनपछि बल्ल एक्स–रे गराउन पाएकी बताइन् । “पहिलो दिन ढिला पुग्दा पालो पाएन, दोस्रो दिन लिमिट सकियो भनेर फिर्ता पठाए, तेस्रो दिन बिहानै गएपछि बल्ल नम्बर आयो,” उनले भनिन् ।
“सेतीमा पनि भिड हुन्छ तर, बाहिर निजी क्लिनिकबाट एक्स–रे गर्न पाइन्छ । यहाँ न निजी क्लिनिक छन्, न वैकल्पिक सुविधा,” विकले भनिन् । गेटा आसपासमा निजी मेडिकल वा अस्पताल नहुँदा समस्या झन् बढेको बिरामीहरूको भनाइ छ ।
एकै डाक्टर दुई ठाउँमा
गेटा अस्पतालमा हाल भिडियो एक्स–रे सेवा डा. होम पन्त मार्फत दिइँदै आएको छ । तर, उनलाई सेती प्रादेशिक अस्पतालमा पनि सिटी स्क्यानको जिम्मेवारी दिइएकाले गेटा अस्पतालमा मात्र ३ घण्टा (११ बजे देखि २ बजे) सेवा दिने गरेका छन् ।
अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीका अनुसार, डा. पन्तले अधिकतम २० वटा मात्र भिडियो एक्स–रे गर्न सक्ने बताएपछि त्यसै अनुसार सेवा दिइँदै आएको हो ।
उनका अनुसार, “हाल अस्पतालमा दैनिक डेढ–दुई सय बिरामी आउँछन् । त्यसमध्ये झण्डै २० प्रतिशतले भिडियो एक्स–रे गराउनु पर्ने हुन्छ । तर, २० वटा मात्र हुने भएकाले धेरैले सेवा लिन पाउँदैनन् ।”
हाल गेटा अस्पतालमा १४१ जनाको अस्थायी दरबन्दी छ । बिरामीको चाप क्रमशः बढ्दै गएको भए पनि सो अनुसार सेवा विस्तार नहुँदा समस्या थपिएको छ ।अस्पतालमा स्वास्थ्य बिमा सेवा पनि अझै पूर्णरूपमा विस्तार हुन सकेको छैन । बिमा सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य क्षेत्रमा सुधारको आशा बोकेको गेटा अस्पतालमा सेवा सीमित हुँदा बिरामीहरू अन्यत्र जान बाध्य छन् । यस्तो अवस्थाले दीर्घकालीन रुपमा अस्पतालको छवि र बिरामीको विश्वासमा असर पार्न सक्ने चिन्ता स्थानीयबासीले व्यक्त गरेका छन् ।