अत्तरिया- कैलालीको अत्तरियामा आज सोमबार गोदावरी स्वतन्त्र नागरिक अभियानको आयोजनामा सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएकै स्थानमा कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गोदावरीस्थित प्रतिभा पुस्तकालयको हलमा आयोजना गरिएको थियो ।
अभियानका संयोजक धनबहादुर बोकटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेशका अर्थराज्यमन्त्री तथा प्रदेश सभा सदस्य माननीय प्रकाश बम रहनु भएको थियो । विशिष्ट अतिथिहरूमा प्रदेश सभा सदस्यहरू माननीय तुलसी देवकोटा, जानकी कुँवर, खेमादेवी बिष्ट तथा पूर्व समाज विकासमन्त्री कृष्ण सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य अभियन्ता शंकर खड्काले प्रस्तुत गरेका थिए भने सञ्चालन राजन खड्काले गरेका थिए । वक्ताहरूले राजधानी तोकिएको गोदावरीमै कार्यान्वयन गरिनुपर्नेमा जोड दिँदै जनभावनाविपरीत राजधानी सार्ने प्रयास अस्वीकार्य हुने स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै राप्रपाबाट प्रदेशसभा सदस्य माननीय खेमादेवी बिष्टले आफ्नो पार्टी संघीयता विरोधी भए पनि गोदावरीको पक्षमा आफू पार्टीभन्दा माथि उठेर उभिने प्रतिबद्धता जनाइन् । क्षेत्र नं. ४ र गोदावरीवासी एकजुट हुनुपर्नेमा उनले जोड दिइन् ।
माननीय तुलसी देवकोटाले राजधानी सारिएको भन्ने विषयमा आफूलाई आधिकारिक जानकारी नभएको बताए । यस्ता हल्लामा मात्र विश्वास गर्न नहुने भन्दै यदि यथार्थमा त्यस्तो निर्णय भए जनतासहित सडकमा उत्रिनुपर्ने धारणा व्यक्त गरे ।
पूर्व मन्त्री कृष्ण सुवेदीले आफ्नो कार्यकालमा राजधानी कार्यान्वयनमा पहल गर्न नसकेको स्वीकार गर्दै अबका प्रतिनिधिहरूले संसदमा दृढ आवाज उठाउनु पर्ने आवश्यकता औंल्याए। उनले गोदावरीबाट राजधानी सार्न नदिने अडान राखे।
कार्यक्रममा सहभागी चारैजना प्रदेश सभा सदस्यहरूले संघर्ष समितिसँग एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। अन्त्यमा अर्थराज्यमन्त्री प्रकाश बमले राजधानी सार्ने निर्णयबारे आफूलाई अहिलेसम्म जानकारी नभएको भन्दै यस विषयमा गम्भीरताका साथ बुझ्ने र जनभावना अनुसार अगाडि बढ्ने बताए।
२०७५ असोज १२ गते दुई तिहाई बहुमतले गोदावरीको क्षेत्र नं. २ र ४ लाई राजधानीका रूपमा तोकिए पनि सात वर्षसम्म कार्यान्वयन नभएको प्रति वक्ताहरूले गम्भीर चिन्ता व्यक्त गरे । उनीहरूले अब कुनै हालतमा पनि राजधानी धनगढी सार्ने षड्यन्त्र सफल हुन नदिने अडान राखे ।
