देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। यसैगरी देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यसैगरी विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ।

कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले आज बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको हो।

विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुनसक्ने रहेकाले थप सचेतना अपनाउन आग्रह गरेको छ।

यस्तै, विभागले आज बिहान अर्को सूचना जारी गर्दै इलामको कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जनाएको छ। विभागले सो आसपास वर्षाको मात्रामा क्रमशः वृद्धि भइरहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेले आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ ।

 

 

 

Loading...