सुदूरपश्चिममा असारमा मात्रै आधा विकास बजेट खर्च

Navadurga sun

धनगढी । चालू आवको नौ महिना बजेट खर्चमा निकै सुस्त देखिएको सुदूरपश्चिम सरकारले असारमा भने खर्च ह्वात्तै बढाएको छ । अन्तिम महिनाको भुक्तानी गर्न पाउने २५ असारसम्म मात्रै कुल बजेटको करिब २९ प्रतिशत खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार बुधबार एकै दिन करिब साढे सात प्रतिशत बजेट खर्च भएको छ ।

पुँजीगततर्फ ६६.५० प्रतिशत र चालूतर्फ ७६.८१ प्रतिशत गरी सुदूरपश्चिममा कुल बजेट खर्च ७०.६५ प्रतिशत पुगेको कार्यालयले जनाएको छ । कुल ३१ अर्ब ५३ करोड ६६ लाख बजेटमध्ये २२ अर्ब २८ करोड १३ लाख खर्च भएको प्रदेश लेखा नियन्त्रक वासुदेव पाण्डेयले जानकारी दिए । यो खर्च प्रतिशत प्रदेशको हालसम्मकै उच्च रहेको उनको भनाइ छ । यस वर्ष पुँजीगत खर्च ६२ प्रतिशत भएको छ ।

पुँजीगततर्फ खर्च भएकोमध्ये आधा बजेट असारको २५ दिनमै भुक्तानी भएको छ । यस वर्ष पुँजीगततर्फ १८ अर्ब ७५ करोड ६९ लाख विनियोजन भएकोमा १२ अर्ब ४७ करोड २७ लाख खर्च भएको छ । असारमा मात्रै ६ अर्ब १९ करोड ६३ लाख भुक्तानी भएको प्रदेश लेखाले जनाएको छ । जेठ मसान्तसम्म पुँजीगत खर्च ३३.४६ प्रतिशत मात्र थियो ।

यस वर्ष चालूतर्फ विनियोजित १२ अर्ब ७७ करोडमध्ये नौ अर्ब ८० करोड ८५ लाख खर्च भएको प्रदेश लेखा नियन्त्रक जोशीले जानकारी दिए । बुधबार एकै दिन पुँजीगतको दुई अर्ब र चालूतर्फको ४० करोड गरी दुई अर्ब ४० करोड भुक्तानी भएको लेखा नियन्त्रक जोशीले जानकारी दिए ।

चालू आवमा संघीय सरकारले दिएको सशर्त अनुदानको करिब पाँच अर्बमध्ये साढे दुई अर्ब खर्च हुन नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । उक्त बजेट संघमा फिर्ता जानेछ । त्यस्तै, यस वर्ष एक अर्ब ६० करोड आन्तरिक आयको संकलनको लक्ष्य पूरा नभए पनि नजिक पुगेको कार्यालयको भनाइ छ ।

Loading...