धनगढी- धनगढी उपमहानगरपालिकाले ‘हरियाली प्रवद्र्धन’ कार्यक्रम अन्तर्गत तीन वर्षमा १६ हजार ५६ वटा विभिन्न बोट बिरुवाहरु बृक्षारोपण गरेर हुर्काएको छ ।


उपमहानगरपालिकाले २०७९ फागुनदेखि २०८२ जेठ मसान्तसम्म ‘हरियाली प्रवद्र्धन’ कार्यक्रम अन्तर्गत बोट बिरुवाहरु बृक्षारोपण गरेको हो ।


धनगढी उपमहानगरपालिका जिन्सी व्यवस्थापन शाखा प्रमुख कृष्णराज जोशीका अनुसार चालु आर्थिक वर्ष २०८१\०८२ को ११ महिनामा छ हजार पाँच सय ९८ वटा बोट बिरुवाहरु बृक्षारोपण गरिएको छ । उनले २०७९/०८० र २०८०/०८१ को दुई वर्षमा नौ हजार चार सय ५८ वटा बोट बिरुवाहरु बृक्षारोपण गरेको बताए ।
उपमहामनगरपालिकाले आर्थिक वर्ष २०७९/०८० देखि चालु आर्थिक वर्ष २०८१/०८२ को जेठमसान्तसम्ममा ५३ वटा सामुदायिक विद्यालयमा एक हजार आठ सय अम्बा र दुई हजार सात सय आँप गरी चार हजार पाँच सय फलफूलका बोट बिरुवाहरु बृक्षारोपण गरेको जनाएको छ ।

उनले १९ वटा वडा मध्य १८ वटा वडाहरुको सडक मिडियन तथा सडक किनारामा बोट बिरुवाहरु बृक्षारोपण गरेको बताए । उनका अनुसार १० नम्बर वडामा सडक किनारमै नाला निर्माण भएकाले गर्दा बोट बिरुवा बृक्षारोपण गर्न सकिएन । बोट बिरुवा लगाउनलाई ठाउँ पनि नभएकाले गर्दा यो वडामा बोट बिरुवा लगाउन नसकिएको उनले बताए । अब बन्ने सडकहरुमा बोट बिरुवा लगाउने तयारीमा रहेको उनले बताए ।
उनले सुन्दर र हरियालीयुक्त धनगढी बनाउने उद्देश्यले बोट बिरुवाहरु बृक्षारोपण गरेको बताए । धनगढीलाई पर्यावरणमैत्री बनाउनका लागि पनि बृक्षारोपणले मदत पुग्ने उनको भनाइ छ । उपमहानगरपालिकाले हरियाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत बृक्षारोपण अभियानलाई तीव्ररूपमा अघि बढाई ‘हरित धनगढी’ अभियान थालिएको हो ।
प्रदेशकै राजधानी समेत रहेकाले धनगढी नगर क्षेत्रलाई हरियाली प्रवद्र्धन गर्ने र पर्यावरण मैत्री बनाउने उद्देश्यले ‘हरित धनगढी’ अभियान अन्तर्गत बृक्षारोपण अभियानलाई तीव रूपमा अघि बढाएको जनाएको छ ।
उनका अनुसार मोहनापुल–अत्तरिया ६ लेन सडक, वनदेवी मन्दिर क्षेत्र, हुलाकी राजमार्ग, धनगढी विमास्थल सडक, चक्रपथ सडक, क्याम्पसरोड, वडा कार्यालयहरुमा मोहना आर्यघाट क्षेत्र, मुख्य सडक कैलाली पुलदेखि चौराहा, मालपोत–गुल्मचर्च सडक र शहिद गेटदेखि क्यापरोडसम्म विभिन्न प्रजातिका बोट बिरुवाहरु लगाइएको छ ।
हुलाकी राजमार्गको मनहेरादेखि बेली क्षेत्रमौवा, अमला, जामुन र सलिफा गरेर पाँच प्रकारका जङगल क्षेत्रमा चराचुरुङगीको आहारका लागि फलफूलका बोटबिरुवाहरु लगाइएको उनले बताए ।
बृक्षारोपण गरेका बोटबिरुवाहरुको हेरचाह गर्नुका साथै दैनिक सिँचाई समेत गर्न गरेको उनको भनाइ छ । उपमहानगरपालिकाले ‘हरियाली प्रवद्र्धन’ कार्यक्रम अन्तर्गत वर्षनी बजेट विनियोजन गर्दै आइरहेको छ ।





