धनगढी- धनगढी उपमहानगरपालिकाले नगर प्रमुख गोपाल हमालको नेतृत्वमा तीन वर्षे कार्यकालमा २५ दशमलव ४ किलोमिटर सडक कालोपत्र गरेको छ। शनिबार सम्पन्न तेह्रो नगर सभाबाट पारित आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उक्त तथ्य प्रस्तुत गरिएको हो।


नगर प्रमुख हमालले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आफ्नो तीन वर्षे कार्यकालमा नगरले भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति गरेको दाबी गरेका छन्। चालु आर्थिक वर्षको जेठ महिनासम्म मात्र उपमहानगरले ७ दशमलव २ किलोमिटर सडक कालोपत्र गरेको उल्लेख गरिएको छ।



उपमहानगरपालिकाको तीन वर्षे कार्यकालमा ११ वटा मोटरेबल पुलहरू निर्माण गरेर सञ्चालनमा ल्याइएको छ। चालु आर्थिक वर्षमा मात्रै पाँच वटा मोटरेबल पुल र तीन वटा झोलुङ्गे पुल निर्माण भएका छन्। झोलुङ्गे पुलहरू वडा नं. ७ पटेला र वडा नं. १५ शान्तिकटान, कैलाली खोलामा नाष्ट कलेज नजिक, जनता राष्ट्रिय माध्यमिक विद्यालय कैलाली गाउँ, तारानगर–रेडक्रस नजिक, साथी होटल पछाडिको कैलाली खोला र वडा नं. १ स्थित नवदुर्गा मन्दिर क्षेत्रलाई जोड्ने छन्।
त्यसैगरी, नगरको नीति तथा कार्यक्रममा १४३ किलोमिटर सडक ग्राभेल गरिएको विवरण समेत समेटिएको छ। चालु आर्थिक वर्षमा मात्र ४२ दशमलव ५ किलोमिटर सडक ग्राभेल गरिएको उल्लेख छ। उपमहानगरपालिकाले यो कार्य आफ्नै स्रोत र साधन प्रयोग गरी गरेको जनाएको छ।
नगर क्षेत्रभित्रका ट्राफिक व्यवस्थापन र सवारी पार्किङ समस्या समाधान गर्न उपमहानगरपालिकाले ८ वटा पार्किङ स्थल निर्माण गरेको छ। धनगढी बजार क्षेत्रमा ६ हजार ४९० वर्गमिटर क्षेत्रफलमा भरान गरेर यी पार्किङ स्थलहरू निर्माण गरिएको हो। सरकारी कार्यालयहरूले सडक क्षेत्र खाली गरेपछि उक्त स्थानमा पार्किङ बनाइएको उपमहानगरले जनाएको छ।





