

इजरायल—मध्यपूर्वको प्रखर राजनीतिक र सामरिक तनावले भरिएको मुलुक। यहाँ शान्ति क्षणिक लाग्छ, अनि भय स्थायी। वर्षौंदेखि यस देशमा बसोबास गर्दै आएका नेपाली कामदारहरू र विद्यार्थीहरू यतिबेला फेरि एकपटक अस्तव्यस्त परिस्थितिको सामना गरिरहेका छन्। तीब्र गाजाबम, मिसाइल आक्रमण र आन्तरिक सुरक्षात्मक तनावको छायाँमा जीवन धकेल्न बाध्य नेपालीहरूका लागि यतिबेला बंकर (सुरक्षात्मक भूमिगत आश्रय) नै अन्तिम र एकमात्र सुरक्षित विकल्प बनेको छ।
तेलअविव, जेरुसेलम, हाइफा, बिर्सेवा लगायत इजरायलका अधिकांश प्रमुख शहरहरू यतिबेला इरान ,हमास, हिज्बुल्लाह तथा अन्य समूहबाट गरिने मिसाइल आक्रमणको मुख्य निशानामा परेका छन्। विशेषगरी तेलअविव ,जेरुसेलम ,हाइफा र बिर्सेवा त बारम्बारको लक्षित आक्रमणको शिकार भइरहेका छन्। यस्ता क्षेत्रमा बसोबास गर्ने नेपालीहरू दिनमा कति पटक सायरनको आवाज सुनेर बंकरमा लुकेका छन् भन्ने तथ्यांक संकलन नै कठिन हुन थालिसकेको छ।
डरको नियमित दिनचर्या
सामान्य जीवनशैली अब अकल्पनीय बनिसकेको छ। बिहान उठ्ने वित्तिकै सयरन बज्छ कि बज्दैन भन्ने चिन्ता; काममा गए पनि, सडकमा हिँड्दा पनि, साथिहरुसँग कुरा गर्दा पनि, मनको कुनामा निरन्तर चिसो भयको स्पर्श। घर बाहिर निस्किँदा नक्सामा ‘निकटतम बंकर कहाँ छ?’ भन्ने कुरा पहिले हेर्नु पर्छ। मोबाइलमा ‘Red Alert’ एप अनिवार्य रूपमा राखिएको छ। नेपालीहरूले अब चाडपर्व भन्दा पनि बंकरको दिशा, समयमा कुद्ने अभ्यास र सुरक्षित बसाइलाई प्राथमिकता दिन थालेका छन् ।
बंकर : डरभित्रको भरोसा
इजरायल सरकारले प्रत्येक भवनमा बंकर वा सुरक्षित कोठा राख्न निर्देशन दिएको छ। तर नेपालीहरू, विशेषगरी केयरगिभर र खेतीपातीमा काम गर्ने श्रमिकहरूलाई यस्तो सुविधा सबै ठाउँमा उपलब्ध छैन। थुप्रै नेपालीहरू अझै पनि खुला स्थान, पुराना अपार्टमेन्ट र असुरक्षित संरचनामा बसिरहेका छन्। तिनका लागि बंकर पुग्न उही सायरन बजेपछि ३० देखि ९० सेकेन्डको समय – जीवन र मृत्युलाई छुट्याउने सिमा बन्न जान्छ। यस्तो अवस्थामा बंकरमा पुग्न नसकेका कैयौं नेपालीहरू सिँढीमुनी, भान्साको कुनामा वा ढोकाको छेउमा लुकेर आफ्नो ज्यान जोगाउने प्रयास गर्छन्।
भावनात्मक तनाव र सामाजिक पीडा

धेरै नेपालीले इजरायललाई स्वप्नदेश ठानेर आएका थिए – राम्रो आम्दानी, सुरक्षित वातावरण र श्रमको उचित मूल्यको आशामा। तर आज ती सपनाहरू धमिलो बन्दै गएका छन्। लगातारको तनाव, देशमा रहेका परिवारको चिन्ता, छेउछाउमा भएका विस्फोटको आवाज अनि कामको अनिश्चितता – यी सबैले नेपालीहरूको मनोबल गिराइरहेको छ।
केही नेपालीहरू बंकरमा छिर्दा भावविह्वल हुन्छन् – देशको सम्झना आउँछ, आमा-बुवाको अनुहार झल्झल झल्किन्छ। ‘म सुरक्षित छु’ भनेर खबर गर्न पाइने इन्टरनेटसमेत कतिपय बंकरमा उपलब्ध छैन । यस्तो बेला उनीहरूको मनमा केवल एक कुराले ठाउँ लिन्छ – “अब के?”
नेपाल सरकार र दूतावासको भूमिका
इजरायलमा रहेका नेपालीहरू यतिबेला अझ बढी संलग्न, उत्तरदायी र सक्रिय राजनैतिक उपस्थितिको अपेक्षा गरिरहेका छन्। हालसम्म नेपाली दूतावासले विभिन्न सूचनात्मक सन्देशहरू जारी गरिरहेको भए पनि प्रत्यक्ष सहयोग, तत्काल राहत र असुरक्षित क्षेत्रमा रहेका नेपालीहरूको व्यवस्थापन अझै प्रभावकारी देखिएको छैन। यस्तो अवस्थामा श्रमिकहरूले एकआपसमा समूह बनाएर बंकरको जानकारी साझा गर्ने, संचार लाइन खोल्ने र परामर्श दिने काम गरिरहेका छन्।
निष्कर्ष
आजको दिनमा इजरायलमा रहेका नेपालीहरूको अवस्था शाब्दिक भन्दा पनि मनोवैज्ञानिक रूपमा जटिल छ। सायरनको आवाज जीवनको दिनचर्या बनेको छ । अब उनीहरूको लागि बंकर मात्र ‘कंक्रिटको आश्रय’ नभएर जीवनकै मर्म भएको छ। बंकर अब एक संरचना होइन, बाँच्न पाइने आशाको प्रतीक बनेको छ ।
त्यसैले भन्नुपर्दा, इजरायलमा बस्ने नेपालीहरूको लागि हालको अवस्था हेर्दा बंकर नै अन्तिम विकल्प हो भन्ने कुरामा दुईमत छैन। जीवनको सुरक्षा, अस्तित्वको लडाइँ र परिवारको सपना जोगाउने एउटै विकल्प – बंकर ।
जब सायरन बज्छ, त्यतिबेलाको ९० सेकेन्डमा जीवन जोगिन्छ या गुम्छ – त्यहाँ अब शब्द होइन, केवल समय र बंकर नै निर्णायक हुन्छ ।