कृष्णपुर नगरपालिकाको नवीन पहलः शिक्षक बैंक मार्फत शिक्षण गुणस्तर सुधार

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयहरूको पठनपाठनमा गुणात्मक सुधार ल्याउने उद्देश्यले ‘शिक्षक बैंक’ स्थापना गर्ने भएको छ । 

शिक्षक बैंक मार्फत शिक्षण सुधार गर्न नगरपालिका लागेकाे छ । नगरपालिकाले हालै प्राथमिक तहका अस्थायी करार शिक्षक पदपूर्तिका लागि विज्ञापन प्रकाशित गर्दै यो अभियानको सुरुवात गरेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नगरप्रमुख हेमराज ओझाले शिक्षक बैंकको अवधारणा विद्यालयमा नियमित पठनपाठन सुनिश्चित गर्न र शिक्षक भर्ना गर्दा लाग्ने समय तथा खर्च घटाउनका लागि ल्याइएको बताए । उनका अनुसार यो प्रणालीले शिक्षक अभावका कारण पठनपाठन अवरुद्ध हुने समस्यालाई समाधान गर्न मद्दत गर्नेछ । शिक्षक अभाव भएमा सो बैंकबाट तुरुन्तै योग्य शिक्षक सिफारिस गर्न सकिने व्यवस्था छ ।

पहिलो चरणमा नगरपालिका–१ स्थित बैजनाथ आधारभूत विद्यालय, कालिका माध्यमिक विद्यालय (बण्ड),मालुबेला स्थित ग्वाँसी आधारभूत विद्यालयमा कार्यरत गराउन तीन जना अस्थायी करार शिक्षक माग गरिएको छ। इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

शिक्षक बैंकमा छनोट भएका शिक्षकहरूको सेवा अवधि प्रारम्भमा दुई वर्ष रहनेछ। यस अवधिमा नगरपालिका भित्रका कुनै पनि विद्यालयमा शिक्षक रिक्तता भएमा शिक्षक बैंकबाट सहज रूपमा सिफारिस गरिनेछ।

यो अभियानले विद्यालयहरूमा समयमै शिक्षक उपलब्ध गराउने मात्र होइन, भर्ना प्रक्रियालाई पनि पारदर्शी, द्रुत र प्रभावकारी बनाउने विश्वास गरिएको छ। शिक्षाको गुणस्तर सुधार गर्ने दीर्घकालीन लक्ष्यसहित ल्याइएको यो प्रयास उदाहरणीय बन्ने आशा गरिएको छ।

Loading...