अत्तरिया- कैलालीको अत्तरियास्थित तरकारी हाटबजारमा शुक्रबार विषादी अवशेष परीक्षणका क्रममा अत्यधिक मात्रामा विषादी भेटिएको बन्दागोभी नष्ट गरिएको छ । खानीडाँडाबाट ल्याइएको उक्त तरकारीमा वैज्ञानिक मापदण्ड भन्दा धेरै विषादी फेला परेकोले ६५ किलो भन्दा बढी बन्दागोभी नष्ट गरिएको हो ।
विषादी अवशेष द्रुत विश्लेषण इकाईका नमुना प्रमुख राजेन्द्र खतिवडाका अनुसार उक्त बन्दामा ९९.१११ प्रतिशत अर्गानोफस्फेट र १.६०६७ प्रतिशत कार्बामेट विषादीको अंश भेटिएको थियो । वैज्ञानिक मापदण्डअनुसार अर्गानोफस्फेटको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्र उपभोग गर्न योग्य मानिन्छ भने ४५ प्रतिशतभन्दा बढी भएमा नष्ट गर्नुपर्ने हुन्छ । सोही आधारमा उक्त बन्दागोभी उपभोगका लागि अयोग्य ठहरिएको हो ।

गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टका अनुसार बजारमा दैनिक विषादी परीक्षणको कार्यलाई निरन्तरता दिइएको छ। उनले उपभोक्तालाई विषादीमुक्त तरकारी तथा फलफूल मात्र उपभोग गर्न आग्रह गर्दै प्रमाणित तथा सुरक्षित वस्तु रोज्न सुझाव दिएका छन्।
हाल बजारमा असामान्य रूपमा पाकेका आँपहरू पनि देखिएको भन्दै उपभोक्तालाई सतर्क रहन र यस्तो फलफूल उपभोग गर्नुअघि ध्यान दिन समेत सुझाव दिइएको छ।
तरकारी तथा फलफूल हाटबजार समिति अध्यक्ष डिल्लीराज जोशीले बाहिरी क्षेत्रबाट आउने तरकारी तथा फलफूलमा निगरानी कडाइका साथ अगाडि बढाइने बताएका छन् । साथै, कृषकहरूलाई विषादी प्रयोगबारे सचेतना फैलाउनु आवश्यक रहेको भन्दै विषादी नियन्त्रण अभियानलाई सशक्त बनाउनु पर्ने धारणा राखेका छन् ।
यस प्रकारका नियमित जाँच र निगरानी कार्यहरूले उपभोक्ताको स्वास्थ्य सुरक्षासँगै बजारमा विषादी प्रयोगको नियन्त्रणमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
