अमेरिका यात्रामा १२ देशका नागरिकलाई पूर्ण प्रतिबन्ध

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

सुरक्षा जोखिमलाई कारण देखाउँदै उनले ट्रम्पले अफगानिस्तान, म्यानमार (बर्मा), चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् ।

Navadurga sun

यसैगरी ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक रुपमा प्रतिबन्ध लगाउने घोषणामा पनि हस्ताक्षर गरेका छन् ।

यात्रा प्रतिबन्धको निर्णय ९ जुनदेखि लागु हुने फक्स न्युजले जनाएको छ । यद्यपि अमेरिकी ग्रिनकार्ड भएका व्यक्तिहरु, ९ जुनभन्दा अघि नै भिसा लागिसकेका व्यक्तिहरू, केही निश्चित भिसा श्रेणीहरू र अमेरिकी राष्ट्रिय हितमा सेवा गर्ने व्यक्तिहरूलाई भने छुट दिइने समाचारमा उल्लेख छ ।

अमेरिकालाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउने चुनावी बाचा अनुसार यो निर्णय गरिएको ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन् ।

ह्वाइट हाउसकी उपप्रवक्ता अबिगेल ज्याक्सनले भनेकी छन्, ‘अमेरिकी जनतालाई हानि पुर्‍याउन चाहने खतरनाक विदेशी तत्वहरूबाट जोगाउन राष्ट्रपति ट्रम्पले प्रतिबद्धता पूरा गरिरहेका छन् ।’

यी प्रतिबन्धहरूलाई ‘साझा समझदारी’को कदमको संज्ञा दिँदै उनले भनिन्, ‘यो निर्णय ती देशहरुमा लक्षित छ जसमा उचित जाँच प्रक्रिया छैन, भिसा अवधि नाघ्ने दर उच्च छ र खतरा सम्बन्धी सूचना आदानप्रदान गर्न असफल छन् ।’

बुधबार राति पोस्ट गरिएको एक भिडियोमा राष्ट्रपति ट्रम्पले कोलोराडोको बोल्डरमा हालै भएको आतंकवादी आक्रमणपछि यो यात्रा प्रतिबन्ध सम्बन्धी घोषणामा हस्ताक्षर गरिएको बताएका छन् ।

‘कोलोराडोको बोल्डरको घटनाले हाम्रो देशमा प्रवेश गर्ने, ठीकसँग जाँच नगरी आएका विदेशी नागरिकहरूका साथै अस्थायी आगन्तुकका रूपमा आएर भिसा अवधि नाघ्नेहरूबाट उत्पन्न हुने चरम खतरालाई उजागर गरेको छ,’ ट्रम्पले भनेका छन्, ‘हामी त्यस्ता मानिसहरू चाहँदैनौं ।’

ADD Khali jpg
ADD Khali jpg
Loading...