सुदूरपश्चिममा लगानी भित्र्याउन प्रवासी नेपालीसँग मुख्यमन्त्रीको भर्चुअल छलफल

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधवार ‘भर्चुअल’ बैठकमार्फत प्रवासी नेपालीसँग प्रदेशमा लगानी भित्र्याउने विषयमा छलफल गरेका छन् ।

‘सुदूरपश्चिम प्रदेश: नीति तथा कार्यक्रम, लगानी तथा विकास सम्मेलन २०८२ सम्वाद कार्यक्रम’ विषयक उक्त बैठकमा जोडिएका प्रवासी नेपालीले लगानीमैत्री वातावरण सिर्जना भएमा आफूहरु लगानी गर्न तयार रहेको जानकारी गराए । 

Navadurga sun

योजनाहरुको प्राथमिकता र आवश्यकताको पहिचान गर्ने, लगानीको वातावरण निर्माण गर्ने, योगदान दिन सकिने क्षेत्रका साथै प्रदेशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा बैठक केन्द्रित रहेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयाग खनालले जानकारी दिए।

लगानीमैत्री वातावरण बनाएर पुँजीको सुनिश्चितता गर्न सकिने आधार निर्माण हुनसके ठूलो पुँजी भित्र्याउन सकिने बैठकमा जोडिनुभएका प्रवासीहरुको भनाइ थियो। बैठकमा अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, अष्ट्रेलिया, रुसलगायत देशमा व्यवसाय गर्दै आएका ३० जना प्रवासी नेपाली जोडिएका थिए। मुख्यमन्त्रीले प्रवासमा रहेका नेपालीलाई समृद्ध नेपाल निर्माणमा योगदान पुर्याउन आग्रह गरे। 

‘विदेशमा सिकेको सीप र आर्जन गरेको पूँजी नेपालमा लगानी गर्न तपाईँहरुलाई आग्रह गर्दछु’, उनले भने, ‘लगानीमैत्री वातावरण तयार गर्न सरकार तयार छ।’ सरकारले प्रदेशको विकासमा टेवा पुर्याउन आगामी असोजमा लगानी तथा विकास सम्मेलन गर्ने तयारी गरिरहेको छ। 

यसैबीच प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयमा आज धनगढीमा प्रदेशसभाका सदस्यहरुसँग सुझाव सङ्कलन गरेको छ। मुख्यमन्त्री शाहले नागरिकको चाहना र माग अनुरूप दिगो विकासका लागि सरकारले काम गरिरहेको उल्लेख गरे। उनले भने, ‘भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएका छौँ।’

सरकारले आगामी वर्षको बजेट कार्यक्रममा कृषिको आधुनिकीकरण तथा व्यवसायिकरण, गुणस्तरीय भौतिक पूर्वाधार विकास, सामाजिक विकास, औद्योगिकीकरण, गरिबी निवारणलगायतका योजनालाई प्राथमिकता दिन लागेको छ। कार्यक्रममा सरकारका मन्त्री, प्रदेशसभा सदस्य, सचिवलगायत सहभागी थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...