गोदावरीका १२ वटै वडा स्तरीय नीति तथा बजेट सार्वजनिक

अत्तरिया- कैलालीकाे गोदावरी नगरपालिकाले जेठ १ गतेदेखि ६ गतेसम्म नगर अन्तर्गतका १२ वटै वडामा वडा भेला सम्पन्न गरेको छ । वडा भेलाहरूमा आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न कार्यक्रमहरूको समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का नीति तथा कार्यक्रम प्रस्तुत गरिएका छन् । नगरपालिकाले प्रत्येक वडामा ‘सिलिङ बजेट’ सार्वजनिक गर्दै आगामी वर्षको प्राथमिकताका योजना र विकासका खाका प्रस्तुत गरेको हो ।

वडा भेलामा नगरपालिकाले प्रत्येक वडाका लागि बजेट विनियोजन गरेको थियो । उक्त नगरपालिकाले पठाएको बजेट सिलिङ्ग अनुसार प्रत्येक वडामा यस्तो छ, बजेट  वडा नं. १ को लागि १ करोड २० लाख ९७ हजार ९२२ रुपैयाँ ८७ पैसा, वडा नं. २ को लागि १ करोड १७ लाख ७ हजार ७७ रुपैयाँ, वडा नं. ३ को लागि ९५ लाख ९४ हजार ८५ रुपैयाँ, वडा नं. ४ मा १ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी वडा नं. ५ मा १ करोड १ लाख ५५ हजार, वडा नं. ६ मा ९२ लाख २१ हजार ४५३, वडा नं. ७ मा ८६ लाख १० हजार ७८०, वडा नं. ८ मा ९४ लाख २४ हजार ८२३, वडा नं. ९ मा ९१ लाख ३४ हजार ५००, वडा नं. १० मा ९३ लाख ३० हजार, वडा नं. ११ मा ८६ लाख ५१ हजार र वडा नं. १२ मा १ करोड २ लाख २६ हजार रुपैयाँ विनियोजन गरिएको छ । 

१२ वटै वडाको बजेट विवरण यसप्रकार छ:

वडा नं. बजेट रकम (रु)
वडा १ १,२०,९७,९२२.८७
वडा २ १,१७,०७,०७७
वडा ३ ९५,९४,०८५
वडा ४ १,१८,००,०००
वडा ५ १,०१,५५,०००
वडा ६ ९२,२१,४५३
वडा ७ ८६,१०,७८०
वडा ८ ९४,२४,८२३
वडा ९ ९१,३४,५००
वडा १० ९३,३०,०००
वडा ११ ८६,५१,०००
वडा १२ १,०२,२६,०००

कुल बजेट रकम: लगभग ११ करोड ३७ लाख ५३ हजार ६४० रुपैयाँ रहेको छ । सबैभन्दा बढी बजेट वडा नं‍. १ ले पाएको छ भने  वडा नं. ७ ले सबैभन्दा कम बजेट पाएको छ ।

nava durga gaupalika

नगरप्रमुख विरेन्द्र भट्टले वडाभेलामा बोल्दै सबै वडामा कुनै भेदभाव नगरी समान रूपमा बजेट वितरण गरिएको बताए । “जनताको सुझावलाई हामीले विकासको मार्गदर्शनको रूपमा लिएका छौं,” उनले भने, “खेलकुद क्षेत्रको विकासका लागि नमुना खेलमैदान निर्माणमा विशेष जोड दिइएको छ। सबै क्लबलाई छुट्टै बजेट दिन सम्भव नभएकाले साझेदारी र समन्वय जरुरी छ ।”

उनले भूमि आयोगसँगको सहकार्यमा नगरवासीलाई लालपुर्जा वितरण सहज बनाउन जमिनको राजश्व दर घटाइएको बताए । “खेती योग्य जमिनमा ५ प्रतिशत र आवास प्रयोजनका जमिनमा १० प्रतिशत मात्र राजस्व निर्धारण गरिएको छ,” उनले जानकारी दिए । साथै, वडा नं. १ मा स्थापना भइसकेको हाटबजार मार्फत व्यवसायिक किसानहरूलाई बजार सुनिश्चित गरिने योजना रहेको र त्यसको कार्यविधि तयार भइसकेको उनले बताए ।

नगरप्रमुख भट्टले स्वास्थ्य र शिक्षा क्षेत्रलाई आफ्नो कार्यकालको पहिलो प्राथमिकता बनाएको जनाउँदै यस क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गरे । उनले ३ नं. वडामा निर्माणाधीन फोहोरमैला व्यवस्थापन केन्द्रलाई प्रदेशकै ठूलो परियोजनाको रूपमा लिइएको जानकारी दिए । “यसले वातावरण संरक्षण, रोजगारी सिर्जना र स्थानीय उत्पादन प्रवर्द्धनमा ठूलो टेवा पुग्नेछ,” उनले भने ।

उप–प्रमुख शारदा देवी रोकायाले वडा भेलामा जनताको सुझाव र गुनासोलाई गम्भीरतापूर्वक लिइने प्रतिबद्धता जनाउँदै भनिन्, “स्थानीय तहको बजेट सीमित भए पनि त्यसको अधिकतम सदुपयोग जनताको हितमा गरिन्छ ।” उनले सहकार्य र एकताको महत्त्वमा जोड दिँदै भनिन्, “कसैले पनि केवल आफ्नो कुरा मात्रै होइन, सबैको विकासको कुरा गर्नुपर्छ ।”

दिदीबहिनीहरूको सक्रियता र स्वरोजगारका लागि पशुपालन तथा कृषि व्यवसायमा लाग्न उपप्रमुख रोकायाले आग्रह गरिन् । “जनताले दिएका सुझाव र गुनासोलाई हामीले सकारात्मक रूपमा लिएर तिनलाई कार्यान्वयनमा लैजानेछौं,” उनले भनिन् ।

गोदावरी नगरपालिकाको वडा भेलाबाट प्राप्त सुझाव र बजेट सार्वजनिकसँगै आगामी वर्षका विकास योजना र कार्यक्रमहरूमा स्थानीय जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

Loading...