धनगढी । समाजमा भड्किलो जन्मदिन मनाउने प्रचलन चलिरहेका बेला कैलालीका पत्रकार खेम ढुङ्गानाले भने आगलागी पीडितलाई आर्थिक सहयोग गरेर जन्मदिन मनाएका छन् ।


जेठ २ गतेको हावाहुरीसँगै भएको आगलागीले घोडाघोडी नगरपालिका ४ गैडाखेडाका झंकर बुढाको घर पूर्ण रूपमा खरानी बनाएको थियो। शरीरमा लगाएका कपडा बाहेक सबै थोक गुमाएका पीडितलाई साथ दिँदै पत्रकार ढुङ्गानाले जन्मदिन मनाएका हुन् ।

समाचार सङ्कलनका लागि घटनास्थल पुगेका पत्रकार ढुङ्गाना पीडित परिवारको अवस्था देखेर स्तब्ध भएको बताउँदै जन्मदिनमा १० हजार सहयोग गरेर जन्म दिन मनाएको बताए । पत्रकार ढुङ्गानाले वडाध्यक्ष भरत बहादुर शाहीमार्फत रकम हस्तान्तरण गरेका थिए ।
‘समाचार सङ्कलन गर्न गएपछि म स्तब्ध भएको थिए । त्यहीबिचमै जन्म दिन आयो । समाचार सङ्कलन गर्दा विक्षिप्त भएपछि रमाएर जन्मदिन मनाउन मन लागेन’ उनले भने, ‘उहाँहरू (आगलागी पीडित) लाई सहयोग गरेपछि उहाँहरू निकै खुसी हुनुभयो ।’
उनले सामाजिक सञ्जालमार्फत भिडियो प्रसारण गरी सहयोगको आह्वानसमेत गरेका थिए। देश–विदेशबाट सहयोगको शृङ्खला सुरु छ। धेरै भड्किलो खर्च गरेर जन्मदिन तथा विवाह जस्ता उत्सव मनाउनु भन्दा दुखी र पीडितलाई सहयोग गर्नुपर्ने उनले बताए ।