महालेखाले तलबभत्ता बाहेकका कुनै पनि रकम निकासा नगर्न मातहतका कार्यालयलाई निर्देशन

काठमाडौं, २४ भदौ– महालेखा नियन्त्रक कार्यालयले बिहीबारदेखि लागू हुने गरी तीन दिनका लागि तलबभत्ता बाहेकका चालु आर्थिक वर्षको बजेटबाट कुनै पनि रकम निकासा नगर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश इकाइ कार्यालयहरुलाई पत्र लेख्दै महालेखाले बिहीबारबाट शनिबारसम्म लागू हुने गरी बजेट निकासा रोक्न भनेको हो ।

पत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०७८/०७९ को नेपाल सरकारको बजेट निकासा सम्बन्धमा तलब, भत्ता र निवृत्तिभरणबाहेकको कुनै पनि बजेट निकासा बिहीबारदेखि शनिबारसम्म नगराउनु होला ।’

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस अवधिमा निकासाई भई बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकासा माग गर्ने र निकासा गर्ने अधिकारी नै जिम्मेवार हुने समेत महालेखाले जनाएको छ । चालु खर्चतर्फ अनिवार्य दायित्व मानिने तलब, भत्ता, निवृत्तिभरणसहितका खर्च भने रोक्न मिल्दैन।

किन रोकियो निकासा ?
महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार सरकारले बजेट अध्यादेशलाई परिवर्तन गरी प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । जसले गर्दा अध्यादेश बजेटमा आएका केही कार्यक्रमहरू विधेयकले परिवर्तन गरेको छ ।
यसरी परिवर्तन भएका कार्यक्रम बजेट पास भएपछि कार्यान्वयनमा जान सक्दैनन् । त्यसैले यो समयमा निकासा भएको बजेट खर्च नहुने अवस्था सिर्जना हुन्छ । उक्त परिस्थितिलाई मध्यनजर गर्दै तत्कालका लागि अनिवार्य दायित्वबाहेकका सबै निकासा रोकिएको उनले बताए । ‘अहिले निकासा रोक्ने अरु कारण छैन’, उनले भने, ‘प्रतिस्थापन विधेयकको तयारी भइरहेकाले खर्च व्यविस्थत गर्न खोजिएको हो ।’
अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन विधेयकमार्फत अगाडि बढाउने तयारी सरकारले गरेको छ । सोही अनुसार बुधबारबाट संसद आहृवानसमेत गरिएको छ । तर, प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण बुधबार यो विधयेक प्रस्तुत हुन भने सकेन।

संसदमा सरकार र प्रतिपक्षको टकरावका बीच बजेट के हुन्छ भन्ने अन्यौल भने बढेको छ । सरकारले अघिल्लो सरकारले बीना स्रोत सुनिश्चित राखेका कतिपय आयोजनाको बजेट काटेको बताएको छ । अनुत्पादक क्षेत्रमा गएको बजेटसमेत काटेर विनियोजन चुस्तता कायम गर्न खोजिएको अर्थको भनाइ छ ।

चालु आवका लागि अध्यादेशबाट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बजेट ल्याएको छ । यसमध्ये बुधबारसम्म चालु तर्फ ४० अर्ब ८४ करोड र पुँजिगत तर्फ मात्र २ अर्ब २७ करोड रुपैयाँ खर्च भइसकेको छ । बुधबारसम्म कुल ३.५१ प्रतिशत बजेट खर्च भइसकेको छ ।

Loading...