
धनकुटा । धनकुटाको विभिन्न स्थानबाट ४३ केजी लागु औषध गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।लागुऔषध गाँजासहित पक्राउ पर्नेमा धनकुटा नगरपालिका–९ का ५१ वर्षीय राजु राई, सहिदभूमि गाउँपालिका–२ का २२ वर्षीय सन्तोष दर्जी, मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका–१० का २६ वर्षीय जयराम सरदार र १८ वर्षीय सुदिप सरदार रहेको प्रहरीले बताएको छ।





राईलाई धनकुटा नगरपालिका–९ मुलघाटस्थित कोशी लोकमार्गमा साप्तिनटारबाट धरानतर्फ पैदलयात्रामार्फत जाँदै गर्दा बिहीबार २८ केजी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताए। तमोर नदीको पुलमा गाडी पर्खिरहेका राईलाई प्रहरी चौकी मुलघाटबाट गस्तीमा खटिएको प्रहरीले शंका लागेर चेकजाँच गर्ने क्रममा कार्टुनमा प्याक गरेर लैजादै गरेको गाँजा प्रहरीले फेला पारेको थियो।




त्यस्तै साँगुरीगढी गाउँपालिका–६ भेडेटारचोकमा संखुवासभाबाट झापाको दमकतर्फ जादै गरेको प्रदेश नम्बर १–०२–००१ ज ४६५९ नम्बरको इभी गाडीमा प्रहरीले चेकजाँच गर्ने क्रममा हेण्डव्यागमा १२ केजी गाँजासहित दर्जीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ भने अर्को इभी गाडी प्रदेश नम्बर १–०२–००१ ज ४६५९ नम्बरलाई चेकजाँच गर्ने क्रममा हेण्डव्यागमा करिब तीन केजी लागुऔषध गाँजासहित सरदारद्धयलाई पक्राउ गरिएको डिएसपी खनालले बताए।
पक्राउ गरेका चारै जनालाई लागुऔषध कारोबार सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले बताएको छ। पछिल्लो समयमा धनकुटाबाट लागुऔषध ओसारपसारको आरोपमा दैनिक जसो विभिन्न व्यक्तिहरु पक्राउ पर्दै आएका छन्।