चुरे ४ गर्भाका १८ जना किसानलाई मिनी टिलर हस्तान्तरण

अत्तरिया- कैलालीको चुरे गाउँपालिका–४ गर्भाका १८ जना किसानलाई मिनी टिलर हस्तान्तरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीले ५० प्रतिशत अनुदानमा १८ वटा मिनी टिलर हस्तान्तरण गरेको हो ।

कृषि ज्ञान केन्द्र कैलालीले शुक्रवार गर्भाका किसानहरूलाई मिनी टिलर हस्तान्तरण गरेको बताएको छ । ७० हजार मूल्य पर्ने मिनी टिलरको कृषि ज्ञान केन्द्रले ३५ हजार अनुदान दिएको छ ।

कृषि ज्ञान केन्द्र कैलालीको मागमा आधारित कार्यक्रम मार्फत उनीहरूलाई मिनी टिलर वितरण गरिएको हो । वडा सदस्य टेक बहादुर साउँदले कृषि ज्ञान केन्द्रमार्फत १८ वटा मिनी टिलर वितरण गरिएको बताए । चुरेमा उत्दापन हुने सुन्तला, मौसमी, अमिलो तथा केराखेती गर्न सहज हुने उनले बताए ।

कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी दुर्गा ओझाले किसानहरूलाई मिनी टिलर चलाउने तरिका तथा स्याहारको विषयमा जानकारी दिएका छन् ।

किसान नारायण योगीले धेरै सरकारी निकायहरूमा जाँदा पनि मिनी टिलर नपाएको बताए । कृषि ज्ञान केन्द्र, कैलालीले १८ वटा मिनी टिलर हाल अनुदानमा वितरण गरेकोमा फेरि थप गरिनु पर्ने उनको माग रहेको छ ।

Loading...